logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सुँगुरको खोरमा थुनेर कुटपिट घटना : दुवै पक्षका ५ जना पक्राउ, अनुसन्धान चल्दै


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०४ जेठ – सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र हालेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

स्थानीय तस्लिम अन्सारीलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनिरहेको छ । प्रहरीले सो घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तस्लिमसहित अर्को पक्षका राजेन्द्र साह सोनार, उनका छोरा कमलेश, पप्पुकुमार यादव र राहुलकुमार महतो रहेका छन् । तस्लिम अन्सारी र राजेन्द्र साह सोनारबिच सुनचाँदीको गरगहना बनाउने विषयमा विवाद भएको बुुझिएको छ ।

प्रारम्भिक अनुसन्धानमा दुवै पक्षबाट हातपात तथा कुटपिट भएको पाइएको र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । राजेन्द्र पक्षका चार जनालाई अमानविय व्यवहार र धर्म सम्वन्धी कसुरमा तथा तस्लिमविरुद्ध अभद्र व्यवहारमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउन अहिले अदालतमा पठाइएको डिएसपी राईले उज्यालो अभियानसँग बताए ।

स्रोतका अनुसार तस्लिम र राजेन्द्र पक्षबिचको विवादपछि गाउँमा पनि पञ्चायती बसेको थियो । सुँगुरको खोरमा थुनेको भिडियो जताततै फाइरल भएपछि प्रहरीले दुवै पक्षका गरी पाँच जनालाई नियन्त्रणमा लिएर कानूनी कारवाही प्रक्रिया अघि बढाएको हो ।

घटना हिजोको रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।