हरिवन, ०२ जेठ – सर्लाहीसहित आसपासका जिल्लाहरुमा विगत तीन चार दिनदेखि बढेको गर्मी आज पनि यथावत् नै छ ।
यहाँ हिजो बेलुकापख हावाहुरी र चट्याङसहित केहीबेर पानी छिट्याएको थियो । मौसममा बदली भएपनि ठूलो पानी पर्न सकेन । हिजो अपरान्ह ४ बजेपछि जिल्लाको चुरेवर्ती केही गाउँहरुमा भने ठूलो पानी परेको स्थानीयले बताएका छन् ।
बाँके, फूलजोर, कालिन्जोर र लखन्देही खोलामा केहीबेर बाढी नै आउने गरी घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोलालगायत चुरेभेगमा एक झर राम्रैसँग पानी परेको हो ।
अन्यत्र भने साँझपख मौसम धुम्मिएर चट्याङ र हावाहुरीसहित केहीबेर पानी छिट्याएको छ । बेलुकाको हावाहुरीपछि जिल्लाको कतिपय ग्रामीण भेगमा बेलुकादेखि अहिले बिहानसम्म नै बिजुली अवरुद्ध हुँदा स्थानीयलाई समस्या परेको छ । यहाँका किसान अहिले पर्याप्त वर्षाको प्रतिक्षामा छन् ।
पानी पर्न नसक्दा सँठिया मकै र चैते धान सुकिरहेको छ । अन्य बालीनालीमा पनि अत्यधिक तापक्रम र चर्को घामले गर्दा पानीको अभाव भएको छ । पानी नपर्दा धुलो धुँवाको प्रकोप बढ्दो छ ।
अहिले पूर्व पश्चिम राजमार्ग विस्तार भइरहेकाले धुलोको अत्यधिक समस्या छ ।