logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दीको बोडीमा अत्यधिक विषादी भेटियो, डुमडुमे खोलामा नष्ट


  • उज्यालो अभियान

लालबन्दी, ०१ जेठ – सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले ल्याएर बेचेको बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ ।

ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रका किसानले उत्पादन गरेर लालबन्दीको डुमडुमेस्थित थोक तरकारी बजारमा ल्याएर व्यापारीलाई बिक्री गरिसकेको मिटर बोडीमा अत्यधिक विषादी प्रयोग भई उपभोग अयोग्य रहेको पाइएपछि नष्ट गरिएको हो । लालबन्दी तरकारी बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका नायब प्राविधिक सहायक दिलबहादुर राउतका अनुसार नष्ट गरिएका बोडीमा ६०.३०४ प्रतिसत अर्गानोफस्फेट नामक विषादीको अवशेष पाइएको छ ।

तरकारीमा विषादीको मात्रा ४५ प्रतिसत भन्दा माथि भए खान अयोग्य हुने र त्यसलाई नष्ट नै गर्नुपर्ने प्राविधिकले बताएका छन् । तरकारीमा विषादीको मात्रा ३५ प्रतिसत भन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिसतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर पुनः ३५ प्रतिसत भन्दा कम आएमा उपभोगयोग्य हुने तर ४५ प्रतिसत भन्दा बढी भए नष्ट र्नै गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार लालबन्दीमा आज नमूनाको रुपमा मिटर बोडीको परीक्षण गर्दा एक जना व्यापारीले किसानबाट खरिद गरेको बोडीमा ६० प्रतिसत विषादीको अवशेष भेटिएको हो । ६० प्रतिसतभन्दा बढी विषादीको मात्रा भेटिएको ६७ केजी बोडी बजार नजिकै डुमडुमे खोलामा लगेर नष्ट गरिएको नायब प्राविधिक सहायक राउतले उज्यालो अभियानसँग बताए ।

दुुई दिनअघि काठमाडौंको कालिमाटीमा लालबन्दीबाटै लगिएको बोडीमा यसैगरी अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकाका नायब प्राविधिक सहायक राउतले लालबन्दी तरकारी बजारमा दैनिक १०÷१५ जना किसानबाट नमूना लिएर तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ ।

किसानबाट किनिसकेको बोडीको नमूना लिएर अत्यधिक विषादी रहेको भन्दै नष्ट गरिँदा आफूहरु बर्बादीमा परेको व्यापारीले गुनासो गरेका छन् । उपभोक्ताले हेर्दा सर्लक्क परेको र राम्रो देखिने तरकारी मात्रै किन्ने गरेको र त्यस्तो तरकारी फलाउन धेरै विषादी प्रयोग गर्नुपरेको किसानले बताउँदै आएका छन् ।

लालबन्दी बजारमा अहिले सर्लाहीसहित आसपासका जिल्लाबाट किसानले ठूलो परिमाणमा मिटरबोडी ल्याएर बिक्री गरिरहेका छन् ।