मलंगवा, ३० बैशाख – मधेश प्रदेशका नवनियुक्त प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदीले आज जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् ।
मातहतका जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्नेक्रममा डिआइजी चतुर्वेदीले आज मध्यान्ह सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गर्न आइपुगेका हुन् । डिआइजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालयमा विभिन्न शाखा र हिरासतको निरीक्षण गरेका छन् ।
उनलाई जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का, डिएसपी सरोज राईलगायतका प्रहरी अधिकारीले जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरीको सेवा प्रवाहका सम्वन्धमा जानकारी प्रदान गरेका छन् । डिआइजी चतुर्वेदीले निरीक्षणपश्चात जिल्ला प्रहरी प्रमुखसहितका प्रहरी अधिकारी र जिल्लाका विभिन्न प्रहरी युनिटका इन्चार्जहरुलाई आवश्यक निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो ।
सर्लाहीपछि डिआइजी चुतर्वेदीले आजै जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको निरीक्षण गरेका निरीक्षणमा सँगै रहेका प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम साहले उज्यालो अभियानसँग बताए ।