लालबन्दी, २६ बैशाख – सर्लाहीसहित तराई क्षेत्रमा घाम चर्किएर गर्मी बढ्न थालेको छ ।
यहाँ ४ दिनअघि वर्षा भएको थियो । त्यसपछि भने निरन्तर घाम चर्किएर अत्यधिक गर्मी हुन थालेको हो । गर्मीले आम मानिस प्रभावित बन्न थालेका छन् ।
तापक्रम बढेर अत्यधिक गर्मी सुरु भएकाले सकेसम्म चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र स्वस्थकर खाना खान चिकित्सकको सुुझाव छ । पानी पर्न रोकिएर मौसम उघ्रिएसँगै चुरेवर्ती क्षेत्रका किसानलाई मकै रोप्ने चटारो छ ।
अन्य क्षेत्रका किसान पनि खेतबारीको काममा ब्यस्त देखिन्छन् । चर्को घाम र गर्मीले मजदुर, विद्यालय जाने बालबालिका, यात्रु र विभिन्न अड्डा, अदालतमा काम लिएर जाने सेवाग्राही प्रभावित बनेका छन् ।
यो समयमा तराई क्षेत्रमा लामखुुट्टेको आतंक पनि बढिरहेको छ ।