logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

इलाका प्रशासन कार्यालय बरहथवाको भवन शिलान्यास


  • उज्यालो अभियान

बरहथवा, २५ बैशाख – सर्लाहीको बरहथवामा इलाका प्रशासन कार्यालयको भवन शिलान्यास गरिएको छ ।

नगरप्रमुख कल्पनाकुमारी कटुवाल र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बरहथवा नगरपालिका ५ मा निर्माण हुने भवनको शिलान्यास गरेका हुन् । बरहथवा नगरपालिका ५ का सरजुग रायले भवन निर्माणका लागि एक करोड रुपैयाँ बराबरको दुुई कठ्ठा पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

आफ्नो भवन नहुँदा बरहथवामा इलाका प्रशासन कार्यालय १० वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । १८ महिनाभित्र भवन निर्माणको काम पूरा गर्ने गरी पौने चार करोड रुपैयाँमा ठेक्का लागेको छ ।

आफ्नो भवन नहुँदा कार्यालयलाई सेवा प्रवाहमै समस्या परिरहेको र निरन्तर भाडा बुुझाइरहनुुपर्ने बाध्यता रहेको अवस्थामा जग्गादाता खोजी गरी बजेटको व्यवस्थापन गरी भवन शिलान्यास गरिएको बरहथवा नगरपालिका ५ का वडाध्यक्ष शिवकुमार सिंह कोइरीले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै नगरप्रमुख कटुवाल र प्रमुख जिल्ला अधिकारी श्रेष्ठले निर्माण व्यवसायीलाई सम्झौता अवधिभित्रै भवन निर्माणको काम पूरा गर्न आग्रह गरेका छन् ।

कार्यालयको आफ्नै व्यवस्थित भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

इलाका प्रशासन कार्यालय बरहथवाले बरहथवा नगरपालिकाको १८ वटै वडा, हरिपुर नगरपालिका, बागमती नगरपालिका र बसबरिया गाउँपालिकाका केही वडाका वासिन्दालाई सेवा प्रवाह गर्दै आइरहेको छ ।