जब्दी, २५ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलबाट आउजाउ बन्द गरिएको छ ।
पुललाई जोड्ने पहुँच सडक अर्थात् “एपरोच रोड” मर्मतका लागि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पुलबाट तत्काललाई आउजाउ गर्न र सवारी साधन सञ्चालन गर्न निषेध गरेको हो । रामपुरतर्फ पुल र सडक जोडिएको भागमा गिट्टी, बालुवा बगेर ठूलो भ्वाङ पर्दा अत्यन्त जोखिमपूर्ण अवस्था रहेको छ ।
फूलजोर पुल ‘ज्यानमारा’ बनेको विषयमा विभिन्न सञ्चारमाध्यमबाट बारम्बार समाचार प्रशारण तथा प्रकाशन भएपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको बल्ल ध्यानाकर्षण भएको छ । पुलबाट चार पाङ्ग्रे सवारी साधन वारपार हुनै नसक्ने अवस्था आउँदा समेत खतराको सामान्य सङ्केतधरी नराख्ने र मर्मतमा बेवास्ता भइरहेको थियो ।
मंगलबारदेखि पुलबाट आवतजावत बन्द रहेको बोर्ड राखेर भ्वाङ पुर्न भनी ढुङ्गा थुपारिएको छ । ईश्वरपुर ८ का वडाध्यक्ष श्यामबाबु थापाले निर्माण ब्यवसायीले तत्कालै पुल मर्मतको काम अघि बढाउने फोनबाट भनिरहे पनि काम भने हुन नसकिरहेको बताए ।
लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले पुलको अवस्था असाध्य दयनीय बनेको र मर्मत नहुँदा बारम्बार सवारी दुर्घटना हुन थालेपछि तत्काल मर्मत गरिदिन सडक डिभिजन कार्यालयलाई बारम्बार घच्घच्याइरहेको जानकारी दिए । पुलबाट आउजाउ बन्द गरेर तल खोलामा डाइभर्सन बनाई त्यहीँबाट सवारी साधन सञ्चालन गर्न थालिएको छ ।
वर्षायामको बेला रहेकाले जुनसुकै बेला डाइभर्सन बगाउने जोखिम रहेको भन्दै यात्रु तथा सवारी चालकले तत्काल पुलको मर्मत गर्नुपर्ने माग गरेका छन् । पप्पु शिवशङ्कर जेभीले निर्माण गरेको पुलको एपरोच रोड कालोपत्रे गर्न पुरानै ठेक्का रहे पनि ठेकेदार सम्पर्कविहीन रहँदा समस्या परेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले बताउँदै आएको छ ।
पुलको रामपुरतर्फ पुलमाथि चढ्ने पहुँच सडकमा निकै तलको भागबाट गिट्टी, बालुवा हुरेर काम गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अनिलकुमारलाल कर्णले पुलको एपरोच रोड तत्काल बनाउन निर्माण व्यवसायीलाई निरन्तर दबाब दिइरहेको बताए ।
फूलजोर पुल निर्माण भएको दुुई वर्ष बितिसक्दा पनि हस्तान्तरण भएको छैन् । निर्माण व्यवसायीले हस्तान्तरण गर्न बाँकी नै रहेको र एपरोच रोडमा बारम्बार भ्वाङ पर्दा मर्मतमा समस्या परिरहेको डिभिजन सडक कार्यालयका प्रमुख कर्णको गुनासो रहेको छ ।