logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा वर्षा, चुरेभेगमा मकै रोप्न सुरु गरिने


  • उज्यालो अभियान

लालबन्दी, २१ बैशाख – सर्लाहीका विभिन्न भूू–भागमा आज बिहान वर्षा भएको छ ।

लालबन्दी र आसपासका क्षेत्रमा एक झर ठूलो पानी परेको स्थानीयले बताएका छन् । कतिपय क्षेत्रमा भने मेघगर्जन र मौसम बदली भएको तर पानी पर्न नसकेको जानकारी प्राप्त भएको छ ।

हिजो दिउँसोपख जिल्लाको केही भेगमा पानी परेको थियो । अहिले पनि जिल्लाको मौसम पुनः पानी पर्ला जस्तो भई धुम्मिएको छ ।

आकाशे वर्षापछि चुरेवर्ती क्षेत्रका किसान खुसी देखिएका छन् । चुरेभेगमा आकाशे वर्षाको भर छ । यहाँका किसानले अब खेतबारीमा मकै रोप्ने तयारी गरेका छन् ।

अहिले परेको पानीले उखु, घोगा लाग्ने बेला भएको मकै, अघिल्लो पानीमा रोपेको मकै, तरकारी र चैते धानलाई अमृत समान काम गर्ने कृषि ज्ञान केन्द्र सर्लाहीकी बागवानी विकास अधिकृत सीमा कार्कीले जानकारी दिईन् । भाच्ने बेला भएको हाइब्रिड मकै भने पानी परेपछि भित्र्याउनका लागि समस्या परेको किसानले गुनासो गरेका छन् ।

कृषि प्राविधिकले बारीमा मकै रोप्ने तयारी गरेका किसानलाई घुन, कीराले नखाएको मकै छानेर रोप्न सुझाव दिएका छन् । यस्तै पानी परेपछि तत्कालका लागि धुलो, धुँवाको प्रदुुषण कम भएको छ भने स्थानीयले गर्मी घटेर शित्तलताको महशुस गरेका छन् ।

यसैबिच, देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाण्डौ उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ ।

आज कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।गएराति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

गएराति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताए । आज देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सिसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । आज दिउँसो पनि काठमाण्डौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यस कारण बादल लाग्ने र पानी पर्ने भइरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।