logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

प्रथम मेयर कप : आयोजक वडा नं. २ लाई उपाधि


  • उज्यालो अभियान

हरिपुर, १५ बैशाख – सर्लाहीको हरिपुरमा आज सम्पन्न प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. २ ले जितेको छ ।

हरिपुर २ सानोजगतपुर खेल मैदानमा आज साँझ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ७ लाई १–० ले पराजित गर्दै वडा नं. २ ले उपाधि उचालेको हो । खेलको मध्यान्तरअघि वडा नं. २ का प्रवेश बलले गरेको एक मात्र गोल नै जितका लागि निर्णायक बन्यो ।

जितसँगै वडा नं. २ ले नगद ७५ हजार रुपैयाँसहित प्रतियोगिताको ट्रफी हात पारेको छ । उपबिजेता वडा नं. ७ ले भने ४० हजार रुपियाँमा चित्त बुझायो ।

हरिपुर नगरपालिकाको ९ वटै वडाले सहभागिता जनाएको प्रतियोगितामा बिजेता वडा नं. २ का रोहन घिसिङ उत्कृष्ट गोलकिपर, विकास माझी वेष्ट डिफेण्डर, ओमराज कुँवर वेष्ट मिडफिल्डर, मनोज कार्की वेष्ट कोच र उपबिजेता वडा नं. ७ का गौरव चौधरी वेष्ट फरवार्ड घोषित भएका छन् । उनीहरुलाई ट्रफीसहित पुरस्कृत गरिएको छ । प्रतियोगिताको बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीलाई नगरप्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको नव संघर्षशील युवा क्लबका अध्यक्ष अमृतकुमार घिसिङले उज्यालो अभियानसँग बताए ।

प्रतियोगिताको समापन समारोहमा हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, योजना शाखा प्रमुख रामदेव चौधरी, प्राविधिक शाखा प्रमुख विवेक यादव, नेकपा एमाले हरिपुर नगर कमिटीका अध्यक्ष माधव सरकार, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सुनिलकुमार बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।