लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)
हरिपुर, १३ बैशाख – नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज ७ घण्टा बिजुली अवरुद्ध हुने भएको छ ।
नवलपुरदेखि हरिपुर सवस्टेशनसम्मको ३३ केभी लाइन मर्मत तथा ३३ केभी स्वीच लगाउने कार्य गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती काटिने भएको हो । लालबन्दी वितरण केन्द्र अन्तर्गत हरिपुरबाट संचालित पचगछिया, इश्वरपुर, बयलवास, सागरनाथ, भक्तिपुर, चौलिखा, पुनर्वास, हरिपुर, लक्ष्मीपुर, पिपरिया, पिडारी, गैरबजार लगायत क्षेत्रमा बिजुली अवरुद्ध हुने जनाइएको छ ।
अन्य भेगमा भने बिजुली सूचारु नै हुने नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ । आज बिहानै फल्ट देखा परेर लालबन्दी क्षेत्रमा बिजुली अवरुद्ध रहेकोमा अहिले सूचारु छ ।
गर्मी बढेर पंखाबिना बस्नै मुस्किल पर्ने अवस्था रहेकोमा आज दिनभरजसो बत्ती काटिने भएपछि हरिपुरबाट लाइन छाडिएको क्षेत्रका स्थानीय प्रभावित हुने भएका छन् ।
सर्लाहीसहित देशैभरजसो पछिल्ला केही सातादेखि बिजुली बत्ती अत्यधिक कटौति भइरहेको स्थानीयले गुनासो गर्दै आइरहेका छन् ।