हरिपूर्वा, १० बैशाख – सर्लाहीको हरिपूर्वा नगरपालिका–१, मा बालबालिका र किशोरकिशोरीका लागि निःशुल्क कम्प्युटर कक्षा सुरु भएको छ ।
कम्प्युटर कक्षाको नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रा देवी ग्वारिन र हरिपूर्वा १ का वडाध्यक्ष श्यामबाबु रायले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बागमती सेवा समाज नेपाल हरिवन र हरिपुर्वा नगरपालिका वडा नं. १ को सहयोग तथा साझेदारीमा बाल मैत्री सिकाई केन्द्रमा कम्प्युटर कक्षा सुरु गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।
बादेका अनुसार बालबालिका र किशोरकिशोरीले वडा कार्यालय तथा संस्थासँग गरेको आग्रह अनुसार बालमैत्री सिकाई केन्द्र स्थापना गरेर कम्प्युटर कक्षा संचालन गरिएको हो । गाउँमै निःशुल्क कम्प्युटर कक्षा लिने अवसर पाउँदा खुसी लागेको सलेश बाल क्लबका अध्यक्ष सपना ठाकुरले बताईन् ।
बागमती सेवा समाज नेपालले सबै वडामा कम्तीमा एउटा बालमैत्री सिकाई केन्द्रको अवधारणासहित काम गरिरहेको छ । नगरप्रमुख साह, उपप्रमुख ग्वारिन, वडाध्यक्ष राय, प्रशासकीय अधिकृत कुमार परियार, महिला तथा बालबालिका शाखाकी प्रमुख धनकुमारी खड्कालगायतले बालबालिका तथा किशोरकिशोरीको उज्वल भविष्यका लागि कम्प्युटर कक्षाको व्यवस्था गरिदिने वल्र्ड भिजन र बागमती सेवा समाज नेपालप्रति आभार व्यक्त गरेका छन् ।