logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा तातो हावा, जनजीवन प्रभावित


  • उज्यालो अभियान

मलंगवा, १० बैशाख – तीन दिनदेखि गर्मी बढेको सर्लाहीमा आजबाट तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।

अत्यधिक गर्मी खेपिरहेका सर्वसाधारण आजबाट तातो हावाको मारमा परेका हुन् । गर्मीका कारण किसान, मजदुर तथा आम सर्वसाधारण आजित बनेका छन् । एक साताअघि पानी परेको सर्लाहीमा अहिले चर्को घाम लागेर जमिन तातेसँगै अत्यधिक गर्मी हुन थालेको हो ।

गर्मीसँगै आजबाट तातो हावा चल्दा दैनिक कामकाज र अत्यावश्यक काम परेर बाहिर निस्कनुुपर्नेहरु अप्ठेरोमा परेका छन् । चर्को घाम र तातो हावासँगै धुलो, धुँवाको प्रदुुषण पुनः बढ्न थालेको छ । कच्ची र पक्की दुवै सडकमा धुलो उडेर यात्रा गर्न समस्या रहेको यात्रु तथा चालकले गुनासो गरेका छन् ।

निर्माण सामग्री बोकेका टिपर कुदेर जताततै धुलोको समस्या रहेको छ । सुक्खापन बढेर तीव्र गतिमा हावाहुरी चल्दा आगलागी र डढेलोको जोखिम बढेको छ ।

चिकित्सकले अहिले अत्यधिक गर्मी र तातो हावाका कारण टाउको दुख्ने, शरीर कमजोर भएको महशुस हुने, आँखा पोल्ने, एलर्जी हुने, पखाला लाग्नेजस्ता स्वास्थ्य समस्या बढ्ने भएकाले चर्को घाम लागेको र तातो हावा चलेको समयमा घरभित्रै बस्न, प्रशस्त पानी पिउन र स्वस्थकर खानेकुरा मात्रै खान चिकित्सकको सुुझाव छ ।

चर्को गर्मीकै समयमा विद्युत् अनियमित हुँदा जिल्लावासी थप मारमा परेका छन् । अहिले तापक्रम बढ्दै गएर राति समेत घर तातेर सुत्न नसक्ने र लामखुुट्टे धेरै लाग्दा हैरान भएको सर्वसाधारणको गुनासो छ ।