प्रतिकात्मक तस्बिर ।
जिंगडवा, ०७ बैशाख – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकामा तीन दिनदेखि बेपत्ता एक भारतीय बालक इँटा भट्टाको खाल्डोमा मृत फेला परेका छन् ।
भारतको बिहार राज्य ग्राम सिरवर घर भई पर्सा गाउँपालिका–४, जिङ्डवामा रहेको इँटा भट्टामा काम गर्ने शिवम माझीका छोरा ४ वर्षीय सुजित माझीको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुुबेर मृत्यु भएको हो । सुजितलाई आफ्नै बुवाले काम गर्ने इँटा भट्टाको चिमनीको खाल्डोमा मृत फेला पारिएको सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टार सिंहले उज्यालो अभियानसँग बताए ।
बालक बैशाख ४ गते गते पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा शैलेशबाबा मन्दिरमा लागेको मेला हेर्न गएदेखि बेपत्ता रहेका थिए । इँटा भट्टाका मजदुर र प्रहरीले खोजी गर्नेक्रममा काम गर्ने ठाउँकै पछाडीपट्टी रहेको चिमनीको खाल्डोमा बालकलाई मृत फेला पारिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
बालकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारलाई बुुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।