घारिबथान, ०७ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा ‘एक घर, एक धारा’ को लक्ष्यसहित खानेपानी योजनाको काम अघि बढाइएको छ ।
विकट रहेको उत्तर–पूर्वी चुरेक्षेत्रस्थित घारिबथानमा बाँके खोलाको जरुवा पानी लिफ्टिङ गरेर एक हजार घरधुरीमा पुर्याउने लक्ष्यसहित खानेपानी योजनाको काम अघि बढाइएको हो । प्रदेश सरकारले प्रदान गरेको ७० लाख रुपैयाँ बजेटबाट धमाधम खानेपानीको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष प्रमोद बरालले जानकारी दिएका छन् ।
खानेपानीको सँधै चरम अभाव भइरहने आफूहरुको ठाउँमा यो योजना सफल भए घरघरमै धारा पुुग्ने र खानेपानीको समस्या टर्ने आश रहेको बरालले उज्यालो अभियानसँग बताए । “घारिबथानका वासिन्दा सँधै खानेपानीको दुःख झेल्न बाध्य छन्,” गाउँका अगुवा समेत रहेका बरालले भने,“यो योजना सफल भइदिए हामीलाई ठूलो राहत पुग्थ्यो ।”
सुक्खाक्षेत्र र भूमिगत पानी निकै तल रहेको घारिबथानमा यसअघि विभिन्न गैरसरकारी संस्थाले पानी निकाल्ने प्रयास गरे तर सफल हुन सकेको छैन् । यो पटक चुरेपाखामा राजारानी मन्दिरस्थित बाँके खोलामा दुुईवटा समप्वयल (ईनार) निर्माण गरेर त्यहाँ जम्मा भएको जरुवा पानी पाईपमार्फत करिव ७०० मिटर दक्षिण बाँके खोलाको ड्याम नजिक ३० हजार लिटर क्षमताको कलेक्सन चेम्बरमा खसाल्ने योजना छ ।
कलेक्सन चेम्बरमा जम्मा भएको पानी विद्युतीय मोटरपम्पमार्फत चुरेपाखामा पर्ने चौकी डाँडामा अढाई लाख लिटर क्षमताको रिर्जभ ट्याङकीमा पुर्याइने प्राविधिकले बताएका छन् । उक्त रिर्जभ ट्याङकीबाट स्थानीयको घरघरमा बनाइने धारामा पानी पठाउने लक्ष्य रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलङ्गवा सर्लाहीका प्रमुख एवं इन्जिनियर रामनाथ साहले बताए ।
इन्जिनियर साहले खानेपानी योजना सम्पन्न गर्न आगामी वर्ष थप बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । “यो वर्ष ७० लाख बजेटबाट रिर्जभ ट्याङकीसम्म पानी खसाल्ने लक्ष्य छ,” इन्जिनियर साहले उज्यालो अभियानसँग भने,“आगामी वर्ष थप बजेट प्राप्त भए एक हजार घरधुरीको धारामा पानी पुर्याउन सकिन्छ ।”
घारिबथानका स्थानीयले अहिले बाँके खोलाको जरुवा पानी सोझै पाइपमार्फत ल्याएर खाने गरेका छन् । सुक्खायाममा मुहानमै पानी सुक्दा खानेपानीको हाहाकार मच्चिने गरेको छ ।
वर्षायाममा खानेपानीको पाइप तथा इन्टेक बगाएर हैरान हुँदै आएको स्थानीयले गुनासो गरेका छन् । ‘एक घर, एक धारा’ योजना अन्तर्गत राजारानी मन्दिर छेउमा बनाइएको समप्वयल अर्थात् ईनारबाट अहिले ९० एमएमको दुईवटा पाइपभरी पानी आउन थालिसकेको उपभोक्ता समितिका सचिव ईश्वरी चापागाईले जानकारी दिए ।
बाँके खोलामा निर्माणाधीन खानेपानी योजनास्थलमै भेटिएका घारिबथानका स्थानीय नारायण थोकरले अहिले पनि खोलाको दुषित पाउनी पिउन बाध्य रहेको र हिउँदयाममा त्यही पानी पनि नपाउने अवस्था रहेका बेला घरघरमै धारा आउने गरी खानेपानी योजनाको काम भइरहँदा खुसी लागेको बताए । थोकरले भने–“खोला र कुलोको दुषित पानी खाइरहेका छौँ, घरघरमै शुद्ध पानीको धारा आइदिए त सारै सहज हुन्थ्यो ।”
ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले खानेपानीका लागि पटकपटक सङ्घीय खानेपानी मन्त्रालयमा धाउँदा कुनै वास्ता नभएको दुःखेसो पोखेका छन् । यो पटक बल्ल प्रदेश सरकारले ७० लाख रुपियाँ विनियोजन गरेपछि लिफ्टिङ गरेर खानेपानी वितरणको लक्ष्य राखिएको वडाध्यक्ष खत्रीले सुनाए ।
वडाध्यक्ष खत्रीले यो वर्ष प्रदेशबाट बजेट पाए पनि सङ्घबाट खानेपानीका लागि सहयोग नै नभएको गुनासो गरेका छन् । “यहाँ भूमिगत पानी निकाल्न धेरै पटक कोशिस त गरियो तर कहीँ पानी नै आएन, कतै सोचेको भन्दा निकै कम पानी आएकाले खानेपानीको सारै समस्या छ,” वडाध्यक्ष खत्रीले उज्यालो अभियानसँग भने, “खानेपानीका लागि दुुई/तीन वर्ष निरन्तर सङ्घीय खानेपानी मन्त्रालयमा धायौँ तर आश्वासन मात्रै पाइयो, बजेट पाउन सकेनौँ ।”
खानेपानी योजनाको काम गरिरहेको उपभोक्ता समितिले बाँके खोलाको ड्याम नजिक बनाइने ३० हजार लिटर क्षमताको कलेक्सन चेम्बरबाट चौकीडाँडामा रहने अढाई लाख लिटर क्षमताको रिर्जभ ट्याङकीसम्म पानी फाल्न मोटरपम्पका लागि बिजुली मात्रै प्रयोग गर्दा धेरै खर्च उठ्ने भएकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र वा अन्य निकायबाट वैकल्पिक उर्जा (सोलार) को आश गरिएको जनाएको छ ।