बागमतीबाट चोरी भएको विद्युत् ट्रान्सफर्मर ।
कर्मैया, ०६ बैशाख – सर्लाहीको बागमती नगरपालिका–११, सखुवनीमा विद्युत् ट्रान्सफर्मर चोरी भएको छ ।
सिँचाईका लागि गाडिएको डिप बोरिङ नजिकै जडान गरिएको ५० केभी क्षमताको विद्युत् ट्रान्सफर्मर फोडफाड गरेर भित्र रहेको तामाको क्वायलसहितका सामग्री चोरी भएको हो ।
बिजुलीको तार काटेर ट्रान्सफर्मर चोरी गरेर लगिएको स्थानीयले बताएका छन् । ट्रान्सफर्मर चोरी भएपछि किसानलाई सिँचाईका लागि समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले ट्रान्सफर्मर चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिए ।