घुर्कौली, ०५ बैशाख – सर्लाहीको हरिवन नगरपालिका घुर्कौली क्षेत्रमा जङ्गली हात्तीले मकै बाली नष्ट गरेपछि किसान मारमा परेका छन् ।
लगातार तीन रातदेखि जङ्गली हात्ती आएर घोगा लागेका मकै खाने र कुल्चिएर नष्ट गर्ने गरिरहेको किसान टेकबहादुर घिसिङले जानकारी दिए । हात्तीले आफ्नो मात्र १० कठ्ठा जग्गाको मकै सखाप पारिसकेको घिसिङले गुनासो गरेका छन् ।
खेत नजिकै पर्ने सागरनाथ वन विकास परियोजनाको जङ्गलमा दिनभर बस्ने हात्तीले रात पर्नासाथ मकै बालीमा पसेर क्षति गर्ने गरेको किसानले गुनासो गरेका छन् । लगानी र मेहनत गरेर उब्जाएको मकै हात्तीले नष्ट गर्दा भोक न निन्द्रा भएको घिसिङले दुःखेसो पोखेका छन् ।
मकै खान आउने हात्ती धपाउन जाँदा मान्छेलाई ठाडै झम्टने गरेको किसानले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार दुईवटा ठूला र एउटा बच्चा हात्ती रहेका छन् ।
एक सातासम्म हरिपुर नगरपालिका–१, हजारबिघा र हरिपुर नगरपालिका–२, सखुवा क्षेत्रका किसानले लगाएको मकै खाएर नष्ट पारेका जङ्गली हात्तीले तीन रातदेखि भने घुर्कौली क्षेत्रमा आएर क्षति पुर्याइरहेका हुन् । हरिपुर नगरपालिका १ हजारबिघाका वडाध्यक्ष नानीबाबु थापाले आफूहरुको क्षेत्रमा तीन रातदेखि हात्ती देखा पर्न छाडेको जानकारी दिए ।
हजारबिघा क्षेत्रमा हात्ती आउन नदिन किसानले रातभर आगो बालेर बस्ने, वन कार्यालयका कर्मचारी र प्रहरीले जङ्गलको बाटोमा गस्ती गर्ने गरिरहेका छन् । जङ्गली हात्ती आएर दुःख दिइरहेको सखुवा, हजारबिघा र घुर्कौली व्यावसायिकरुपमा उन्नत जातको मकै खेती हुने क्षेत्र हो । मुखैमा आइसकेको बाली हात्तीले सखाप पार्दिदाँ किसान चिन्तित बनेका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले नम्बरी जग्गामा वन्यजन्तुले बालीमा नोक्सान गरे क्षतिपूर्ति दिने व्यवस्था भएकाले पीडित किसानलाई कार्यालयको सम्पर्कमा आउन आग्रह गरेका छन् । उनले जङ्गली हात्तीलाई नियन्त्रणमा लिन वा भगाउन असहज रहेकाले सजग रहन स्थानीयसँग आग्रह गरेका छन् ।