मलंगवा, ०४ बैशाख – जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालयमा दर्ता भएर संचालनमा रहेका संस्थाको विवरण अद्यावधिक गराउन बैशाख मसान्तसम्मको समय दिएको छ ।
कार्यालयले आज सूचना जारी गरी यही बैशाख मसान्तभित्र विवरण उपलब्ध नगराउने संस्था निष्कृय तथा संचालनमा नरहेको भनी अभिलेखित गरिने जनाएको हो । कार्यालयका प्रशासकीय अधिकृत जयकिशोर साहले हस्ताक्षर गरी जारी गरेको सूचनामा संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संचालनमा रहेका संस्थाहरुलाई विवरण अद्यावधिक गराउन भनिएको छ ।
विवरणमा संस्थाको नाम, दर्ता नं. र मिति, संचालक तथा कार्य समितिका पदाधिकारीको नाम, कार्यालय ठेगाना, सम्पर्क नं., इमेल र नवीकरण भएको आर्थिक वर्ष उल्लेख गर्न भनिएको छ ।
कतिपय संघसंस्था दर्ता गर्ने र झोलामा कागज बोकेर मात्रै संचालन गर्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले सो प्रवृत्तिलाई निरुत्साहित गर्न संस्थाको विवरण अद्यावधिक गराउन लागिएको प्रष्ट पारेको छ ।