लालबन्दी, ०४ बैशाख – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१, नवलपुरका २५ वर्षीय सुशील चौधरी रहेका छन् । चौधरीलाई गएराति २४४ केजी २०० ग्राम गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
गाँजासहित समातिएका चौधरी गाडी चालक हुन् । चुरेवर्ती क्षेत्रबाट लागुुऔषध गाँजा ल्याइँदै गरिएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकको नेतृत्वमा खटिएको प्रहरीले सिन्धुलीको मरिणबाट लालबन्दीतर्फ आउँदै गरेको बा. २० च १७८२ नम्बरको पिकअप गाडी रोकेर खानतलासी लिँदा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
तयारी अवस्थाको गाँजा प्लाष्टिकको पोका बनाएर बोराभित्र हालेर ल्याउँदै गरिएको थियो । उक्त गाँजा, पक्राउ परेका चालक र गाडीलाई कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाठकले उज्यालो अभियानसँग बताए ।