आफूले निरीक्षण गरिरहँदा सर्लाही गोल्डेन अस्पताल बाहिर जम्मा भएर होहल्ला गरिरहेका स्थानीयलाई सम्झाउँदै मुख्यमन्त्री सिंह ।
बरहथवा, ०४ बैशाख – सर्लाहीको दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा सम्पूर्ण निजी अस्पताल मापदण्डविपरीत संचालनमा रहेको पाइएको छ ।
मुख्यमन्त्री सतीशकुमार सिंहले गएसाँझ बरहथवा बजारका ११ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरी अवैध रहेका ती सबै स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिनुुभएको छ । मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरी र दर्ता समेत नरहेका सङ्कटमोचन अस्पताल, सन्जिवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चारवटा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन् ।
मापदण्ड विपरीत रहेका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न र दर्ता एवं अन्य प्रक्रिया पूरा गरेर मात्रै संचालन गर्न निर्देशन दिइएको मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए । मङ्गलबार साँझ बरहथवास्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका एक बिरामीसँग भर्ना भएको केहीबेरमै धेरै बील उठाएको भन्दै विरोध जनाउँदा तनाव उत्पन्न भएको घटना बाहिरिने बित्तिकै मुख्यमन्त्री सिंह अस्पताल अनुगमनका लागि बरहथवा आइपुगेका हुन् ।
मुख्यमन्त्री सिंहले यसअघि सर्लाहीमा नवलपुर, लालबन्दी र मलङ््गवाका निजी अस्पताल अनुगमन गरी मापदण्ड पूरा नगरेका अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका मापदण्ड विपरीतका अस्पताल अहिले खुलेयाम सञ्चालन भइरहेको भन्दै चौतर्फी गुनासो आइरहेको छ ।