रानीगन्ज, ०३ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित पूर्वपश्चिम राजमार्ग छेउकै जङ्गलमा आज दिउँसोदेखि भीषण डढेलो लागिरहेको छ ।
लालबन्दी बजार तर्फबाट कालिन्जोर खोला तर्नासाथ राजमार्गदेखि उत्तरतर्फ मसला र सिसौका रुख रहेको क्षेत्रमा ठूलो डढेलो लागेको हो । डढेलो निभाउन वन उपभोक्ता समिति वा वन कार्यालयले कुनै वास्ता गरेका छैनन् ।
राजमार्गको कालोपत्रेसम्म नै छुने गरी डढेलो फैलँदा जोखिम रहेको राजमार्गमा यात्रा गर्ने यात्रु तथा चालकले गुनासो गरेका छन् । डढेलोमा परेर सुकेका सिसौका रुख जलिरहेका छन् । आज अपरान्ह ४ बजेपछि एक्कासी फैलिएको डढेलोका कारण राजमार्ग क्षेत्रमा धुँवाको मुस्लो देखिन्छ ।
रानिगन्जका शिक्षक राजेन्द्र रिजालले डढेलो नजिकैबाट असुरक्षित हिसाबले सवारी गुडेका जानकारी दिए । यसअघि फूलजोर, बाँके, सागरनाथलगायत क्षेत्रमा पनि राजमार्गसम्म नै डढेलो फैलिएको थियो । एक साताअघिको वर्षाले अन्य क्षेत्रमा डढेलो निभे पनि रानिगन्ज जङ्गलमा भने आज दिउँसोबाट ठूलो डढेलो फैलिएको हो ।
यसअघि बाँके जङ्गलमा लागेको डढेलो वन कर्मचारीले स्याउला र पानी ट्याङकरको सहयोगमा निभाउन खोजे पनि असम्भव भएको थियो ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले कार्यालयले १० जना अग्नी नियन्त्रक, उपलब्ध पानी ट्याङकर र अन्य औजार प्रयोग गरेर डढेलो निभाउने प्रयास गरिरहे पनि हावाहुरी चलिरहँदा भीषणरुपमा फैलने डढेलो निभाउन असम्भव हुने गरेको बताएका छन् ।