बागमती, ०३ बैशाख – सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् ।
गएको चैत २८ गते पाँच घन्टासम्म भएको वर्षाले चुरेभेगमा पर्ने दापडाँडामा पाखाको बाटो बिग्रिएको थियो । नगरपालिका कार्यालयले खनेको कच्ची सडकमा पानी परेर अत्यधिक खाल्टाखुल्टी परेपछि गाउँलेहरु मिलेर ढुुंगा, माटो भरेर खाल्टो पुर्ने काम गरिएको बाल कल्याण प्राथमिक विद्यालय बागमती १ का शिक्षक मंगल लामाले बताए ।
लामाका अनुसार गाउँका किशोरकिशोरी र युवा मिलेर भत्किएको सडक मर्मत गर्ने काम गरिएको हो । ठुलो पानी परेर भलबाढी बग्दा ठाउँठाउँमा सडकको माटो बगाएर साइकल, मोटरसाइकल, टेम्पुजस्ता सवारी संचालनमा समस्या आएपछि गाउँले जुर्मुराएर सडक मर्मतको काम गरेका हुन् ।
चुरेपाखा खनेर बनाइएका कच्ची सडक सानो पानी पर्नासाथ यसैगरी बिग्रने गरेका छन् । पछिल्लो समय गाउँघरमा सडक सरसफाई, मर्मतसम्भारजस्ता सामाजिक काममा एकत्रित हुने चलन हराउँदै गएको छ ।
अझ चुरेभेगमा त अधिकांश वासिन्दा सुुगम क्षेत्रमा बसाइँसराई गरेर गएकाले मानिस कम हुँदै जाँदा आपतविपतमा सारै समस्या पर्ने गरेको स्थानीय बताउँछन् ।