logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हजारबिघाबाट हटेनन हात्ती, मकै बालीमा व्यापक क्षति


  • उज्यालो अभियान

हरिपुर, ०२ बैशाख – सर्लाहीको हरिपुर नगरपालिका १ र २ मा एक सातभन्दा बढी समयदेखि जङ्गली हात्तीले क्षति पुर्याइरहेका छन् ।

तीनवटा जङ्गली हात्तीले जानकीनगर साझेदारी वन छेउछाउका किसानको मकै बालीमा व्यापक क्षति गरिरहेका हुन् । हरिपुर २ को सखुवा क्षेत्रमा दुःख दिइरहेको जङ्गली हात्तीले चार दिनदेखि लगातार हरिपुर १ को हजारबिघा क्षेत्रमा मकै खाइदिने र खुदेर नष्ट गर्ने गरिरहेका छन् ।

हात्तीले हजारबिघाका आठ जना किसानको १२ कठ्ठा भन्दा बढीको मकै नष्ट पारेको हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए । थापाका अनुसार हात्तीको समूहले धनबहादुर पाण्डे, अरुण कार्की, सन्त कार्की, अशोक बिमली, कृष्णप्रसाद मैनाली, मदन मैनाली, मोहन खत्री, दिलबहादुर छन्त्याललगायत किसानको खेतमा घोगा लाग्ने बेला भएको मकै सखाप पारेको छ । हात्तीले निरन्तर क्षति पुर्याइरहेका खेतमा जान समेत डरमर्दो भएको किसानले गुनासो गरेका छन् ।

हात्तीकै कारण हजारबिघा, जानकीनगर, सखुवालगायत क्षेत्रका किसान घाँस, दाउराका लागि जङ्गल जान डराएका छन् । हात्तीले हरेक रात किसानको मकै बारीमा पसेर क्षति पुु¥याएपछि अब भने वन र किसानको खेत जोडिएको बाटोमा राति तीन/चार पटक गाडी दौडाएर हात्ती भगाउने तयारी गरिएको वडाध्यक्ष थापाले बताए । त्यसका लागि पुरानो बाटोमा आज नगरपालिकाबाट जेसिबी मगाएर झाडी, बुट्यान फाँड्ने काम गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

डिभिजन वन कार्यालय सर्लाहीले अन्य जनावरलाई झैँ हात्तीलाई नियन्त्रणमा लिन सक्ने अवस्था नरहेकाले घर नजिक वा बालीनालीमा आए सतर्कताका साथ भगाउनुुबाहेक अन्य उपाय नै नरहेको जनाएको छ ।