चन्द्रनगर, ०१ बैशाख – ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ भन्ने नारासहित सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा आज नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजना तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा ऐतिहासिक नाढीमन तालको पर्यटन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यतामा आयोजित कार्यक्रममा भैरवीदल गण पाँचकुमारीका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, मानव अधिकारकर्मी रजनीकान्त झा, नेपाली कांग्रेसका युवा नेता बलिराम झा, चन्द्रनगरको विभिन्न वडाका वडाध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।
जिल्लाभरका संचारकर्मी सहभागी अन्तरक्रियाका वक्ताले जिल्लाकै ऐतिहासिक महत्व बोकेको नाढीमन ताल अहिले ओझेलमा परेको र पर्यटकको आगमन शून्यजस्तै रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जनप्रतिनिधिबिचको आपसी किचलोका कारण तालको अवस्था यस्तो भएको भन्दै वक्ताहरुले जिल्लाकै इतिहास बोकेको र ठूलो पर्यटकीय सम्भावना बोकेको तालको संरक्षणमा एक भएर लाग्न जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।