बरहथवा, ३१ चैत – सर्लाहीको बरहथवामा बागमती नदीबाट नदीजन्य सामग्री उत्खनन र चोरी निकासी तथा टिफर आतंक बन्द गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ ।
बरहथवा नगरपालिका–१, हजरियास्थित खर्साल घाटबाट ठेकेदारले नदीजन्य सामग्री उत्खनन र चोरी निकासी गरी तीव्र गति र ओभरलोडले भरिएको टिपरको कारण यहाँ प्रत्येक वर्ष दुर्घटना हुने गरेकोले त्यसलाई तत्काल रोक्न माग गर्दै आज बरहथवा बजारमा प्रदर्शन गरिएको जनमत पार्टीका नेता त्रिभुवन सिंहले जानकारी दिए ।
खर्साल घाट नजिकै सामुदायिक वन रहेकोले नगरपालिकाले विगत ६ वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का नलगाउने गरेको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले बताए । नगरपालिकासँग सम्झौता नै नगरी ठेकेदारले नदीजन्य पदार्थ चोरी निकासी गरी दैनिक सयौं टिपर लगिने गरेको स्थानीयको आरोप छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले त्यसरी अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।