logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पानी परेपछि निभ्यो डढेलो, गहुँमा सामान्य क्षति, अन्य बालीलाई फाइदा


  • उज्यालो अभियान

लालबन्दी, २९ चैत – पर्याप्त आकाशे भएपछि तराईका जिल्लाका वन क्षेत्रमा भीषणरुपमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।

केही दिनदेखि सर्लाही, महोत्तरी, रौतहट, बारालगायत जिल्लाको पूर्वपश्चिम राजमार्ग आसपास र चुरेवर्ती क्षेत्रका वन क्षेत्रमा जताततै डढेलो फैलिएको थियो । हिजो बिहान करिव पाँच घण्टा भएको अविरल वर्षापछि तराईका वन क्षेत्रमा व्यापक फैलिएको डढेलो निभेको हो । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले पानी परेपछि वन डढेलो तत्कालका लागि नियन्त्रणमा आएको जानकारी दिए ।

पानी परेसँगै वन डढेलो नियन्त्रणमा आएकाले जनजीवन सामान्य बनेको छ । यो वर्ष चैत लागेदेखि नै सुरु भएको वन डढेलोले जिल्लाको प्रत्येकजसो सामुदायिक तथा साझेदारी वनमा स–साना बोटविरुवा र सुकेका रुख जलेर सखाप भएका छन् ।

वन डढेलो नियन्त्रणमा आएपछि नजिकैका बस्तीका स्थानीयले सुरक्षित महशुस गरेका छन् । तीव्रगतिमा हावाहुरीसँगै वन क्षेत्रमा डढेलो लाग्दा नजिकै रहेका बस्तीका वासिन्दा राम्रोसँग निधाउन पाएका थिएनन् ।

चुरेवर्ती क्षेत्रस्थित बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले चुरेपाखाका विभिन्न जङ्गलमा लागेको डढेलो पानी परेसँगै आफै निभेको बताए । उनले सिँचाई सुविधा नरहेको चुरेवर्ती क्षेत्रमा पर्याप्त आकाशे वर्षा भएपछि किसान खुसी रहेका जानकारी दिए ।

चुरेभेगका किसान यही पानीको चिसोमा मकै रोप्ने तयारीमा जुटेका छन् । गहुँ, मकै, मसुरो, लहरीलगायत बाली भित्र्यारहेका किसानलाई भने आकाशे वर्षाले समस्या पारेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले धमाधम काट्ने बेला भएको गहुँमा पानी परेपछि समस्या गरे पनि चैते धान, उखुुलगायतका बालीलाई अहिलेको पानीले अमृत समान काम गर्ने बताए ।

अहिलेसम्मको पानीले गहुँमा पनि खासै क्षति नगरेको तर पुनः पानी थपिए क्षति गर्न सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाको भनाई छ । पर्याप्त आकाशे वर्षा भएसँगै धुलो, धुँवाको प्रदुुषण कम भएकाले प्रदुुषणजन्य सङ्क्रमणका बिरामी कम हुने चिकित्सकले बताएका छन् ।

केही सातादेखि टाउको दुख्ने, आँखा पोल्ने, एलर्जी हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका बिरामी बढिरहेकोमा प्रदुुषण कम भएसँगै यस्ता समस्या भएका बिरामी कम हुने नगर अस्पताल लालबन्दीका प्रमुख डा. चन्दन चौधरीले बताए ।