logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बागमती र ब्रह्मपुरीमा निमित्त तोकियो, धनकौलमा दिइएन जिम्मेवारी


  • उज्यालो अभियान

बागमती नगरपालिकाको कार्यालय । (फाइल तस्बीर)

बागमती, २८ चैत – लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका सर्लाहीका दुुईवटा पालिकामा मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिदिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको बागमती नगरपालिका र ब्रह्मपुरी गाउँपालिकामा पालिकामै कार्यरत कर्मचारीलाई आर्थिक अधिकारसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । प्रशासनतर्फका उपसचिवको दरबन्दी रहेको बागमती नगरपालिकामा प्रमुख लेखा अधिकृत प्रतीत भण्डारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

भण्डारीको ठाउँमा भने लेखा अधिकृत मनिषा थापालाई प्रमुख लेखा अधिकृतको जिम्मेवारी दिइएको पत्र मन्त्रालयबाट प्राप्त भएको बागमती नगरपालिकाका कार्यबाहक नगरप्रमुख कृष्णकुमार लामाले उज्यालो अभियानसँग बताए । महिनौँपछि प्रमुख प्रशासकीय अधिकृत तोकिएसँगै अब चालू आर्थिक वर्षको योजना सम्झौता, कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब निकासालगायतको बाटो खुलेको कार्यवाहक नगरप्रमुख लामाले जानकारी दिए ।

उता गएको माघ ९ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको ब्रह्मपुरी गाउँपालिकामा पालिकामै कार्यरत स्वास्थ्य सेवातर्फका अधिकृत छैठौं उपेन्द्र राउतलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिदिएको छ । मन्त्रालयले यसअघि गएको माघ ९ गते देशभरका २३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्दा राउतलाई दिइएको जिम्मेवारी पनि फिर्ता लिएको थियो ।

अढाई महिनापछि पुनः राउतलाई नै आर्थिक अधिकारसहितको निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको हो । एक साताअघि निमित्तको जिम्मेवारी पाएका राउतले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको रोकिएको तलब बैङ्कमा पठाइसकिएको उज्यालो अभियानलाई जानकारी दिए ।

त्यस्तै राउतसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको जिल्लाको धनकौल गाउँपालिकामा भने अहिले कसैलाई पनि जिम्मेवारी दिइएको छैन् । यहाँ माघ ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका स्वास्थ्य सेवातर्फका सिनियर अहेब कृष्णमोहनप्रसाद साहको जिम्मेवारी खोसिएको थियो ।

अन्य पालिकामा भएकै कर्मचारीलाई निमित्त दिइए पनि आफ्नो पालिकामा निमित्त तोक्न मन्त्रालयले ढिला गरिदिँदा सबै काम ठप्प भएको गाउँपालिका अध्यक्ष रामआश्रय साहले उज्यालो अभियानसँग गुनासो पोखेका छन् । प्रमुख प्रशासकीय अधिकृत माग गर्दै काठमाडौं पुुगेर फर्किएको तर मन्त्रालयले कुनै निकास नदिएको उनले दुुःखेसो पोखे ।