लालबन्दी, २८ चैत – सर्लाहीमा आज पाँच घण्टा लगातार वर्षा भएको छ ।
बिहान ३ बजेदेखि सुरु भएको झरी ८ बजेपछि रोकिएको छ । लामो समयपछि वर्षा हुँदा आकाशे वर्षाको भर रहेको क्षेत्रका किसान खुसी भएका छन् ।
अब पानी परेसँगै चुरेवर्ती क्षेत्रका किसानले मकै छर्ने तयारी गरेका छन् । तर, गहुँ, मसुरो, लहरीलगायतका बाली भित्राइरहेका किसान भने पानी परेपछि समस्यामा परेका छन् ।
सर्लाहीमा गएको असोजपछि पर्याप्त आकाशे वर्षा भएको हो । पानी परेसँगै यहाँका वन क्षेत्रमा लागेको डढेलो तत्कालका लागि निभेको छ । धुलो, धुँवाको प्रदुषण पनि हटेको स्थानीयले बताएका छन् ।
कतिपय ठाउँमा भने लगातार ५ घण्टा ठूलो पानी पर्दा डुबान र हिलोको समस्या देखिएको छ । ६ महिनापछि पर्याप्त पानी परेसँगै अब प्रदुषणजन्य संक्रमणका बिरामी घट्ने चिकित्सकले बताएका छन् ।
यस्तै अविरल वर्षा रोकिएपछि आम मानिस तथा कर्मचारी आ–आफ्नो काममा लागेका छन् ।
पानी पर्न रोकिएर यहाँ अहिले घाम देखा पर्न थालेको छ । पर्याप्त वर्षा हुँदा गर्मीबाट प्रभावित भइरहेकाले स्थानीयले आज शित्तलताको महशुस गरिरहेका छन् ।