logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पासाङको उपचारका लागि आर्थिक सहयोगको याचना


  • उज्यालो अभियान

वीर अस्पतालमा उपचाररत् पासाङ जिम्बा लामा ‘शान्ति’ ।

हरिवन, २६ चैत – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहमा आश्रीत पासाङ जिम्बा लामा ‘शान्ति’ को उपचारका लागि सहयोग गरिदिन बालगृहले आग्रह गरेको छ ।

फोक्सोमा समस्या देखिएका १७ वर्षीय पासाङको वीर अस्पताल काठमाडौंमा उपचार चलिरहेको छ । डेंगु भएर स्थानीयस्तरमै उपचारपछि ठीक भएका बालकलाई स्वास्थ्यमा पुनः समस्या देखिएपछि चैत १५ गते बिहान काठमाडौं लगिएको थियो । त्यहाँ लगेर टेकु अस्पताल भर्ना गरिएका बालकको फोक्सोमा पिप जमेको र अवस्था जटिल रहेको भन्दै चिकित्सकले वीर अस्पताल रेफर गरे ।

बालकको फोक्सोमा पिप जमेको र इन्फेक्सन समेत भइसकेकाले अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । बालगृहले आश्रय दिएर राखेको अभिभावकविहीन पासाङको उपचारका लागि अहिलेसम्म दुुई लाख खर्च भइसकेको र अब अपे्रसन गर्न अस्पतालले सुरुमा डेढ लाख रुपियाँ जम्मा गर्न भनेको बालगृहका अध्यक्ष सुरेन्द्र लामाले बताए ।

अस्पतालले एडभान्समा डेढ लाख रुपियाँ जम्मा गर्न भने पनि आफूहरुसँग आर्थिक अभाव भएको लामाले गुनासो गरेका छन् । “डेढ लाख जम्मा गर्न पाएको भए आजै अप्रेसन हुने थियो, तर हामीसँग भएकोजति सबै पैसा उपचार गर्दागर्दै सकिएको छ,” लामाले उज्यालो अभियानसँग भने“अब डेढ लाख रुपियाँ कसरी जुटाउने भन्ने तनावमा छौँ ।”

चिकित्सकलाई डेढ लाख रुपियाँ खोजिरहेकाले आजको अप्रेसनलाई केही दिन पछि सारिदिन आग्रह गरेको लामाले बताए । बालगृहको जापानमा रहेका दातालाई समेत पासाङको उपचारका लागि सहयोगको याचना गरेको तर उताबाट कुनै प्रतिक्रिया नआएकाले समस्यामा परिरहेको लामाले गुनासो पोखेका छन् ।

लामाले मनकारी व्यक्तिलाई पासाङको उपचारमा सहयोग गरिदिन अपिल गरेका छन् । जो कोहीले पासाङको शल्यक्रियाका लागि आवश्यक पर्ने रकम सहयोग गर्न चाहे बालगृहका अध्यक्ष लामालाई ९८५४०३७३१० मा सम्पर्क गर्न सक्ने छन् ।

बालकको उपचारमा काठमाडौंमा रहेर सहयोग गरिरहेका सर्लाही निवासी स्वास्थ्यकर्मी पाण्डवराज बरालले फोक्सोमा पिप जमेर इन्फेक्सन भएका पासाङको मुटु तथा फोक्सोको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकबाट अप्रेसन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । पासाङलाई पाइपबाट फोक्सोमा जमेको पिप निकाल्दा समेत जटिलता कम नभएपछि अब अप्रेसन नै गर्नुपर्ने अवस्था आएपछि टेकुुबाट वीरमा सारिएको बरालले बताए ।