बागमती नगरपालिकाको कार्यालय । (फाइल तस्बीर)
मलंगवा, २६ चैत – सर्लाहीका २० मध्ये छ पालिकाले मात्रै पाठ्यपुस्तकको रकम निकासा गरेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु हुन एक साता मात्रै बाँकी रहँदा जिल्लाका १४ पालिकाले पाठ्यपुस्तकको रकम निकासा गरेका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका अनुसार आजसम्म जिल्लाको बलरा, कविलासी, ईश्वरपुर, हरिपूर्वा र लालबन्दी नगरपालिका र चक्रघट्टा गाउँपालिकाले मात्रै पाठ्यपुस्तक खरिदबापतको पहिलो किस्ताको रकम विद्यालयको खातामा पठाएका छन् ।
बाँकी १४ वटा पालिकालाई समयमै विद्यालयको खातामा पाठ्यपुस्तकको रकम पठाउन ताकेता गरिरहे पनि बेवास्ता गरेका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कशुवाहाले जानकारी दिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले प्रकाशन गरेर पठाउने पुस्तक यहाँका बिक्रेतमार्फत विद्यालयले खरिद गर्ने गरेका छन् ।
पालिकाले विद्यालयको खातामा पाठ्यपुस्तकको रकम पठाउनै ढिलाई गर्दा विद्यालयले शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक नपाउने अवस्था सिर्जना भएको छ । शैक्षिक सत्र सुरु हुुनुुभन्दा तीन महिनाअघि नै विद्यालयको खातामा पाठ्यपुस्तक खरिद बापतको अनुदान रकम पठाउने पर्ने व्यवस्था छ ।
चालु शैक्षिक सत्रका विद्यार्थी सङ्ख्याको ७५ प्रतिसत सङ्ख्यालाई हिसाब गरी पालिकाले विद्यालयलाई अनुदानबापतको पहिलो किस्ता रकम पठाउनुुपर्ने हुन्छ । नयाँ विद्यार्थी भर्नाको विवरण, पाठ्यपुस्तक खरिद र वितरण गरेको विवरणको आधारमा एकिन गरी नपुुग रकम दोस्रो पटक अनुदान दिने व्यवस्था गरिएको छ ।
जिल्लाका अधिकांश पालिकाले बेलैमा विद्यालयको खातामा पाठ्यपुस्तकको रकम पठाउन आलटाल गरेका छन् । कुनै विवाद नरहेको र कर्मचारी उपलब्ध रहेका पालिकाले समेत पाठ्यपुस्तकको रकम विद्यालयलाई उपलब्ध गराउन चासो देखाएका छैनन् ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको जिल्लाको बागमती नगरपालिकामा आर्थिक कारोवार नै ठप्प हुँदा पुस्तकको अनुदान रकम निकासामा अन्यौलता देखिएको छ ।