बबरगन्ज, २६ चैत – सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्ज गौचरण पर्ती बजारमा दलित र गैरदलित मिलेर सीताराम नाम महायज्ञ आयोजना गरेका छन् ।
बयलवास–बबरगन्ज सडक छेउको पर्ती बजारस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा दलित र गैरदलित मिलेर महायज्ञ लगाएका हुन् । महायज्ञमा दलित समुदायलाई पूजापाठलगायत कुनै पनि कार्यमा अवरोध छैन् ।
महायज्ञमा तराईको सबैभन्दा पिछडिएको दलित समुदायअन्तर्गत पर्ने मुसहर समुदायका व्यक्तिले होममा चरु हाल्ने काम गरिरहेका छन् । महायज्ञ आयोजक समितिको अध्यक्ष दलितअन्तर्गत पर्ने पासवान समुदायको युवकलाई बनाइएको छ ।

महायज्ञ आयोजक समितिका अध्यक्ष मनोज पासवानले यज्ञमा जुनसुकै जातजातिलाई प्रवेश तथा पूजापाठका लागि खुला गरिएकाले कुनै प्रकारको विभेद नरहेको सुनाए । “यहाँ दलित र गैरदलितबिच कुनै विभेद छैन्, सबैको सहभागितामा महायज्ञ चलिरहेको छ,” पासवानले उज्यालो अभियानसँग भने, “यज्ञमा दलित र गैरदलित मिलेर पालैपालो होममा चरु हाल्ने काम समेत गरिरहेका छन् ।”
चैत २० गतेदेखि जारी महायज्ञ आयोजना गर्न पर्ती बजारका स्थानीयले १० जना दलित र ५ जना गैरदलित समावेश गरेर समिति बनाएका छन् । होम हाल्ने काममा ३ जना दलित र ३ जना गैरदलित खटिएका छन् ।
महाज्ञयज्ञस्थलमा होम हाल्ने काममा दलितबाट बिघु माझी मुहसर, शिवजी माझी मुसहर, चलित्तर दास पासवान तथा गैरदलितबाट रामप्रताप महतो, रामवीर राय र रामनन्दन महतो खटिएका छन् । सोमबार मध्यान्ह यज्ञमा होम हाल्दै गर्दा भेटिएका बिघु माझीले यज्ञमा आफू दलित भएको महशुस नै नगरेको बताए ।

अहिलेसम्म ५ पटक यसैगरी गाउँका दलित र गैरदलित मिलेर महायज्ञ लगाइसकेको बिघुुले जानकारी दिए । “म दलित र अर्को गैरदलित भन्ने नै महशुस भएको छैन, सबैले सबै काम गरिरहेकै छौँ,” उनले भने “हाम्रोमा अन्य ठाउँमा जस्तो केही विभेद छैन् ।”
पासवान समुदायका रामचन्द्र दास बैरागी र मुसहर समुदायका विष्णु दास बैरागीले विभिन्न गाउँमा पुुगेर संकलन गरेको सहयोग र गाउँलेले उठाएको १ लाख ३० हजार चन्दाबाटै पर्ती बजारमा दलित तथा गैरदलित मिलाएर सीताराम नाम महायज्ञ आयोजना गरेका हुन् । यज्ञ आयोजक समितिका कोषाध्यक्ष रामएकवाल महतोले आफू गैरदलित भएपनि दलित समुदायलाई कुनै विभेद नगरी यज्ञमा सरिक भइरहेको बताए ।
समाजमा सबै जातजाति मिलेर बस्नुपर्ने सन्देश दिन यसरी यज्ञ लगाइरहेको महतोले बताएका छन् । उनले भने, “यहाँ कसैले कसैलाई कुनै किसिमको विभेद गरेको छैन्, हामी त समाजमा सबै जातजाति मिलेर बस्नुको विकल्प छैन भन्ने पक्षमा छौँ ।”
यज्ञमा रामयण पाठ गरिरहेका मिश्रीलाल साह तेली यज्ञमा ठूलो, सानो जाति भन्ने मानसिकता कसैले नराखेको बताउँछन् । साहले यो यज्ञले सबै जातजाति मिलेर बस्नुुपर्ने सन्देश दिएको पनि सुनाए ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले दुुई जना दलित साधुसन्तको अगुवाईमा संचालन भइरहेको यज्ञमा बृहत बैठक बसेर दलित र गैरदलित मिलाएर आयोजक समिति बनाइएको बताए । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, पार्टीका प्रतिनिधि र गाउँले बसेर दलित र गैरदलित दुवै समुदाय मिलाएर आयोजक समिति बनाएका हुन् ।
गाउँपालिका अध्यक्ष महतो दलितकै अगुवाईमा गैरदलित समाहित भएर यज्ञ आयोजना गरिरहँदा समाजमा उदाहरणीय काम भइरहेकोमा खुसी छन् । “दलितमाथि अन्यत्र भइरहेको विभेदलाई पर्ती बजारको महायज्ञले चूनौति दिइरहेको छ,” गाउँपालिका अध्यक्ष महतो अघि भन्छन्, “यज्ञमा गाउँपालिकाले पनि साथ, सहयोग गरेको छ । हामीले कार्यपालिका बैठकबाटै ३१ हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेका छौँ ।”
गाउँपालिका अध्यक्ष महतोले मधेश प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्ने पहिलो पालिका चन्द्रनगर गाउँपालिका रहेको समेत दावी गरेका छन् । पर्ती बजारका स्थानीयले लगाएको महायज्ञ २९ गतेसम्म चल्ने छ ।