भारतको सितामढीमा सम्पन्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकपछि सामूहिक तस्बिर खिचाइँदै ।
मलंगवा, २५ चैत – सर्लाही, महोत्तरी र रौतहट तथा भारत बिहारको सितामढी जिल्लाका पदाधिकारी र सम्वद्ध अधिकारीबिच सोमबार नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
भारतको सितामढीमा सोमबार साँझ बैठक सम्पन्न भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । नेपालको तर्फबाट तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख र भन्सार कार्यालयका प्रमुखको बैठकमा उपस्थिति रहेको थियो ।
त्यस्तै बैठकमा भारतको तर्फबाट सितामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा पुलिस अधिक्षक, एसएसबीका पदाधिकारी र त्यहाँस्थित भन्सार कार्यालयका प्रमुख सहभागी भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । श्रेष्ठले सोमबार राति प्रेस विज्ञप्ती जारी गर्दै बैठकमा खुला सीमानाका कारण हुन सक्ने चोरी तस्करी, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, अवैध मुद्रा कारोवार नियन्त्रण, एक आपसमा सूचना आदानप्रदान र सुरक्षा संवेदनशीलताको विषयमा छलफल भएको उल्लेख गर्नुभएको छ ।
नेपाल र भारतका सुरक्षा अधिकारीबिच यसरी नियमितजसो नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक बस्ने गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।