मलंगवा, २० चैत – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्लाही जिल्ला अदालतमा छड्के निरीक्षण गरेका छन् ।
न्याय परिषद्ले प्रदेश राजधानी जनकपुरधाममा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सरिक हुन मधेश झरेका प्रधानन्यायाधीश राउतले सोही अवसरलाई सदुुपयोग गरी सर्लाही जिल्ला अदालतको छड्के निरीक्षण गरेका हुन् । प्रधानन्यायाधीश राउतले सदरमुकाम मलङ्गवास्थित सर्लाही जिल्ला अदालतमा करिव डेढ घण्टा सेवाग्राहीसँग अनौपचारिक कुराकानी गरे ।
उनले सेवाग्राहीसँग अदालतबाट प्रवाह भइरहेको सेवा, कर्मचारीको व्यवहार, कर्मचारीले दुःख दिए/नदिएकोलगायतबारे सेवाग्राहीसँग कार्यालय परिसरभित्र उभिएर कुराकानी गरेका हुन् । प्रधानन्यायाधीशसँग सर्लाही जिल्ला अदालतमा सेवा लिन आइपुगेका सेवाग्राहीले समयमा काम नभएको, सँधै अदालत धाइरहँदा धेरै खर्च भएको, जितिसकेको मुद्दामा पनि फैसला कार्यान्वयन हुन नसकेकोजस्ता गुनासो गरेका छन् ।
सेवाग्राहीसँग डेढ घण्टा कुराकानी गरेपछि मात्रै प्रधानन्यायाधीश राउतले सर्लाही जिल्ला अदालतका न्यायाधीश र कर्मचारीसँग अदालतको सेवा प्रवाहका सम्वन्धमा छलफल गरी सेवाग्राहीको गुनासो सम्वोधन हुने गरी काम गर्न निर्देशन दिएका अदालत स्रोतले जनायो ।