मलंगवा, १६ फागुन – संघीय राजधानी काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक मारिएको घटनामा आज सर्लाहीका पत्रकारले पनि प्रदर्शन गर्दै छन् ।
एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रजक हिजो दिउँसो तीनकुनेस्थित एक घरमा राजावादीको प्रदर्शनकाक्रममा तोडफोड भएपछि तोडफोड भएकै घरमा चढेर भिडियो खिच्नेक्रममा सो घरमा पछि आगजनी समेत हुँदा जलेर ज्यान गएको थियो । पत्रकार मारिएको घटनामा अहिले देशभर चौतर्फी विरोध भइरहेको छ ।
नेपाल पत्रकार महासंघले आज देशभर आफ्नो स्थापना दिवस मनाउँदै थियो । तर स्थापना दिवसकै अघिल्लो दिन पत्रकार मारिएपछि महासंघले आज निर्धारित कार्यक्रम परिवर्तन गरी देशैभर विरोध प्रदर्शन र सभा गर्न लागेको हो ।
सर्लाहीमा पनि आज बिहान प्रभातफेरी र स्वास्थ्य परीक्षणको कार्यक्रम राखिएको भएपनि एकाएक विकसित घटनापछि सो कार्यक्रमलाई विरोध प्रदर्शनमा रुपान्तरण गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार जिल्लाभरका पत्रकार आज मध्यान्ह सदरमुकाम मलंगवामा भेला भएर प्रेस स्वतन्त्रता र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शन गर्न लागिएको हो ।
हिजो आन्दोलनका क्रममा केही संचारगृहमा समेत आक्रमण भएपछि त्यसको अहिले देशभर सर्वत्र विरोध भइरहेको छ ।