logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

साधारणतर्फको एसइई सकियो, मर्यादित भएको दावी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, १५ चैत – सर्लाहीमा यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) तुलनात्मकरुपमा मर्यादित ढङ्गले सम्पन्न भएको दावी गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष एसइई मर्यादित र सामान्य ढङ्गले सम्पन्न भएको निष्कर्ष निकालिएको जानकारी दिए । उनका अनुसार साधारणतर्फको एसइई आजबाट सम्पन्न भएको छ ।

प्राविधिकधार र ग्रेडवृद्धितर्फको परीक्षा भने बाँकी नै छ । सर्लाहीमा प्राविधिकधार र ग्रेडवृद्धितर्फको एसइई चैत १८ गतेसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।

जिल्लामा प्राविधिक धारतर्फका ३१५ जना परीक्षार्थीले श्रीमती कृष्णामती माध्यमिक विद्यालय मलङ्गवा परीक्षा केन्द्र र ग्रेडवृद्धितर्फका ५२ जना परीक्षार्थीले पब्लिक माध्यमिक विद्यालय मलङ्गवा परीक्षा केन्द्रबाट एसइई दिने छन् ।

चैत ७ गतेबाट सुरु भएको एसइई सञ्चालनका लागि सर्लाहीमा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । परीक्षा अवधिभर परीक्षा केन्द्रमा मर्यादा कायम गर्न नसक्ने सात जना परीक्षा निरीक्षक र दुई जना विद्यालय सहयोगी निष्काशनमा परे । परीक्षालाई मर्यादित बनाउन विभिन्न अनुुगमन टोली बनाएर परीक्षाको अनुगमन गरियो ।

जिल्ला परीक्षा समन्वय समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सबैको साथ, सहयोगका कारण जिल्लामा यो वर्षको एसइई शान्तपूर्वक र मर्यादित ढङ्गले सम्पन्न भएको भन्दै सहयोग गर्ने सबैप्रति धन्यवाद् ज्ञापन गरेका छन् ।

सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यो वर्ष करिव १२ हजार परीक्षार्थी सामेल भए । साधारणतर्फको एसइई सम्पन्न भएसँगै परीक्षा केन्द्र नजिक कोठा गरेर बसेका परीक्षार्थी आजैबाट धमाधम आ–आफ्नो घर फर्किन थालेका छन् ।