logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रुख कटान र बिजुलीको पोल विस्थापनमा ढिलाई, सडक विस्तारमा समस्या


  • उज्यालो अभियान

रानिगन्ज क्षेत्रमा पूर्व पश्चिम राजमार्ग विस्तारको काम हुँदै । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १५ चैत – रुख कटान र बिजुलीको पोल विस्थापनमा ढिलाई हुँदा पूर्वपश्चिम राजमार्ग विस्तारमा समस्या थपिएको छ ।

कमला–ढल्केबर–पथलैया सडक आयोजनाको पूर्वी खण्डमा रुख कटान र बिजुलीको पोल सार्न ढिलाई भएकै कारण काममा तीव्रता दिन नसकिएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । रुखविरुवा र बिजुलीको पोल नपर्ने ठाउँमा भने धमाधम काम भइरहेको निर्माण व्यवसायीको दावी छ ।

राजमार्गको सर्लाही खण्डमा सडकको क्षेत्राधिकारभित्र पर्ने रुख र बिजुलीको पोल छाडेर नै काम गर्न थालिएको छ । रुख कटानमा ढिलाई हुँदा सर्लाहीमा फूलजोरदेखि बाँकेसम्मको क्षेत्रमा काम अघि बढ्न सकेको छैन् ।

अन्यत्र भने रुख र पोल छाडेर सडक दायाँबायाँ सफा गर्ने, माटो हुर्ने, विभिन्न स्थानमा माटो परीक्षण गर्ने, बागवानी र सासापुुरमा कल्भर्ट निर्माण गर्ने काम भइरहेको कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्डले जनाएको छ । पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलले रुख कटान र बिजुलीको पोल विस्थापन कार्य प्रक्रियामै रहेको जानकारी दिए ।

पौडेलका अनुसार कमलादेखि बागमतीसम्म सडक दायाँबायाँ रहेका आठ हजार ४५२ थान विभिन्न प्रजातिका रुख हटाउनुपर्ने अवस्था छ । कटानअघि यी रुखको यकिन सङ्ख्या बुझ्न पुनः गणना भइरहेको आयोजना प्रमुख पौडेलले बताए ।

कटान गर्नुपर्ने रुखको सङ्ख्या प्रमाणीकरणका लागि प्रत्येक जिल्लाका डिभिजन वन कार्यालय हुँदै प्रदेश र सङ्घ सरकारकहाँ धाउनुुपर्ने झन्झटिलो प्रक्रिया रहेको पौडेलले गुनासो गरेका छन् । उनले विद्युतीय पोल विस्थापन अर्थात् अहिले रहेको ठाउँबाट अन्यत्र सार्न पनि असाध्य झन्झट रहेको बताए ।

दुुई वर्षअघि नै गरिएको गणना अनुसार पूर्वी खण्डको कमलादेखि बागमतीसम्म बिजुलीका २२२ वटा विद्युत पोल रहेका छन् । ति पोल विस्थापनका लागि ३५ करोड रुपियाँ भन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको छ ।

सडक आयोजनाका अनुसार मानव बस्ती र बजार क्षेत्रमा पनि अहिले काम अघि बढ्न सकेको छैन् । सडकको दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने घरटहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरिसकिएको र अब प्रक्रियाअनुसार अघि बढ्ने तयारी रहेको आयोजना प्रमुख पौडेलले बताए ।

राजमार्गमा सामानान्तर बिच्छाइएको नेपाल टेलिकमका अप्टिकल फाइबरले पनि समस्या थपेको छ । यसलाई स्थानान्तरण गर्न आयोजना र टेलिकमबिच समझदारी (एमओयु) को तयारी भइरहेको पौडेलले जनाएका छन् ।

समझदारी पत्रमा हस्ताक्षरपछि टेलिकमले बजेट सुनिश्चित गर्नुपर्ने छ । त्यसपछि सडक ठेकेदारले अप्टिकल फाइबर हटाउने काम गर्ने छन् ।

पूर्वपश्चिम राजमार्गको कमला–बडहरी–फूलजोर–बागमती ७४.७५ किलोमिटर लम्बाइको पूर्वी खण्ड विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ ऋण सहयोगमा बनाउन लागिएको हो । यसका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रसुुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले ठेक्का सम्झौता गरेका छन् ।

सन् २०२७ सम्म सडक विस्तारको काम सम्पन्न भइसक्नुपर्ने छ । निर्माणमा देखिएको सुस्त गतिका कारण समयमै सडक बन्नेमा शङ्का रहेको लालबन्दी नगरपालिका–१, नवलपुरका स्थानीय वासिन्दा दीपक श्रेष्ठले बताए ।

अहिले दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गर्नुपर्ने भएकाले सडक क्षेत्राधिकारमा अनेक बाधा अड्चन देखा परेको छ ।