logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सडकमा भइरहेको व्यापार र अतिक्रमण रोक्ने प्रयास


  • उज्यालो अभियान

मलंगवा, १५ चैत – सदरमुकाम मलंगवामा सडकमै सरसामग्री राख्ने र व्यापार गर्ने प्रवृत्ति रोक्न पहल थालिएको छ ।

जिल्ला सदरमुकाम भएपनि मलङ्गवामा सडकमै खुुलेयाम सरसमान राखेर व्यापार गर्ने परिपाटी धेरै नै छ । त्यसलाई नियन्त्रण गर्न नगरपालिका कार्यालयले प्रयास थालेको हो ।

हिजो बिहीबार सर्वदलिय बैठक गरेर मलङ्गवा बजार क्षेत्रभित्र सडकको क्षेत्राधिकार मिचेर राखिएको ठेला, पसल अगाडिको खाट तथा सरसामग्री, गाडी, मिठाई पसल, कपडा र अन्य संरचना हटाउने निर्णय भएको मलङ्गवा नगरपालिका–९, का वडाध्यक्ष चन्देश्वर रायले उज्यालो अभियानसँग बताए ।

सडकको क्षेत्राधिकारभित्र पर्ने सरसामग्री र संरचना हटाउन स्थानीय वासिन्दा र व्यापारीलाई आज बिहान वडाध्यक्ष रायकै नेतृत्वमा पसल–पसलमै पुुगेर आग्रह गरिएको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीसहित स्थानीयलाई आज सचेत गराइएको र तत्कालै सडक खाली नगरिए आइतबारबाट डोजर प्रयोग गरी अतिक्रमण हटाउने काम अघि बढाइने मलङ्गवा नगरपालिकाले जनाएको छ ।

मलङ्गवा नगरपालिकाको वडा नं. ४, ८, ९ र १० मा बजार क्षेत्र पर्छ । ती चारवटै वडाले स्थानीय वासिन्दा र व्यवसायीलाई सडकमा व्यापार नगर्न र अन्य प्रकारको अतिक्रमण भए तत्कालै हटाउन आग्रह गरेका छन् ।

मानिस तथा सवारीको अधिक चाप हुने सदरमुुकाम मलङ्गवाको सडकमा जथाभावी व्यापार, व्यवसाय गर्ने र सरसामग्री राख्ने गर्दा पैदलयात्रीलाई हिँड्न तथा चालकलाई सवारी साधन सञ्चालन गर्न असाध्य समस्या हुँदै आएको छ ।