हरिवन, १३ चैत – “मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र, हामी सबैको पहिचान” भन्ने नारासहित सर्लाहीको हरिवनमा तेस्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ ।
हरिवन नगरपालिका–११, स्थित सुर्ति विकास चौरमा प्रदर्शनीको उद्घाटन गर्दै मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले आधुनिक प्रविधि अवलम्वन गरी किसानलाई पशुपालन तथा कृषि पेशातर्फ आकर्षित गर्न प्रदर्शनीले टेपा पुुग्ने विश्वास व्यक्त गरे । उनले कृषकलाई प्राविधिक सरसल्लाह प्रदान गर्न प्रदेशका आठै जिल्लामा पालिकाहरुसँग समन्वय गरी कृषक सहायता केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै प्रदेशभर नमूनाकोरुपमा निकट भविष्यमै महिला कृषक स्वंसेविका नियुक्त गर्ने तयारी समेत भइरहेको मन्त्री क्षेत्रीले बताएका छन् । पशुपालन तथा कृषि पेशामा आवद्ध रहेका किसानलाई आधूनिक औजार, उपकरणसँग जोडेर उत्पादन बढाउने उद्देश्यले तेस्रो पटक डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना गरिएको हरिवन नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले कृषकलाई कृषि र पशुपालन क्षेत्रमा विकसित भएका आधूनिक औजार, उपकरणबारे जानकारी प्रदान गर्न विभिन्न स्थानबाट व्यवसायी बोलाएर प्रदर्शनीमा स्टल राख्न लगाइएको जानकारी दिएका छन् ।
प्रदर्शनीमा स्थानीय किसानले कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन गरेको वस्तुुको समेत गरी ६० वटा स्टल राखिएको छ । हरिवन नगरपालिकाले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, इन्दुशङ्कर चिनी उद्योग हरिवनलगायत विभिन्न सङ्घसंस्था तथा निकायबाट सहयोग लिएर प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने छ ।