अनु देवकोटा/लालबन्दी, १३ चैत – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा गएसाँझ सर्लाहीको लालबन्दी र हरिवनमा प्रदर्शन भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाई हीतेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सो निर्णयको अहिले देशव्यापी विरोध भइरहेको छ । सोहीक्रममा पूर्व पश्चिम राजमार्गस्थित हरिवन र लालबन्दीमा कुलमानको पक्ष र सरकारको विरोधमा प्रदर्शन भएको हो ।
हरिवनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको विभिन्न भातृ संघसंगठनले संयुक्तरुपमा मसाल जुलुस निकालेका छन् । दुवै पार्टीका नेता कार्यकर्ताको संयुक्त उपस्थितिमा मसाल जुलुस निकालेर हरिवनस्थित सशस्त्र प्रहरीको बिट अगाडि कोण सभा सम्पन्न गरिएको हो ।

यस्तै उज्यालो नेपालका नायक रहेका भन्दै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग गर्दै लालबन्दीमा मैनबत्ती बालेर सांकेतिक प्रदर्शन गरिएको छ ।
लालबन्दी नगर विकासमा जनचासोको तर्फबाट डुमडुमे मन्दिर परिसरमा मैनबत्ती बालेर कुलमानको पक्षमा प्रदर्शन गरिएको हो ।