नाढीमन, १२ चैत – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुुगेर विवाह गर्ने १३ जना छोरीलाई सम्मान गरेको छ ।
गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बाल विवाह तथा भागी विवाह न्यूनिकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/८० देखि २० वर्ष पुुगेर विवाह गर्ने गाउँपालिकाभरका छोरीलाई नगद ५० हजार रुपियाँसहित सम्मान गर्ने निर्णय गरेका थिए । सोही निर्णय बमोजिम चालू आर्थिक वर्ष २०८१/८२ को गत साउनदेखि अहिलेसम्म कक्षा १२ उत्तीर्ण भएका र २० वर्ष पुुगेर विवाह गरेका १३ जना छोरीलाई सोमबार जनही ५० हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरिएको हो ।
सोही कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरी स्नातक तह पहिलो वर्षमा अध्ययनरत् २३ जना छोरीलाई जनही ११ हजार रुपियाँ प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । अहिले स्नातक तह पढ्दै गरेका छोरीलाई पछि विवाहका बेला गाउँ कार्यपालिकाको निर्णय बमोजिम ५० हजार रुपियाँ प्रदान गरिने चन्द्रगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।