logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आर्थिक अभावले दुई वर्षदेखि राजर्षि जनक कप हुन सकेन


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बागमती, १२ चैत – आर्थिक समस्याका कारण सर्लाहीको बागमतीमा राजर्षि जनक कप फुटबल प्रतियोगिता दुुई वर्षदेखि हुन सकेको छैन् ।

बागमती युवा क्लब र बागमती नगरपालिकाले संयुक्तरुपमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्दै आएका थिए । अन्तिम पटक २०७९ माघ अन्तिमसाता सातौं संस्करणसम्म प्रतियोगिता आयोजना भएको थियो । त्यसयता लगातार दुुई वर्षदेखि भने प्रतियोगिता हुन सकेको छैन् ।

प्रतियोगिता आयोजना गर्न करिव १ करोड रुपियाँ खर्च लाग्ने आयोजक बागमती युवा क्लबले जनाएको छ । क्लबका अध्यक्ष किस्मतराज मैनालीले आर्थिक अभावका कारण प्रतियोगिता गर्न नसकिएको गुनासो गरेका छन् ।

नगरपालिकाले दिँदै आएको बजेट दिन नसकेको र अन्य प्रायोजक नभेटिएकाले दुुई वर्षदेखि प्रतियोगिता स्थगित गर्नुपरेको मैनालीले उज्यालो अभियानसँग बताए । यो वर्ष प्रतियोगिताको आठौं संस्करण गर्ने सुरसार गरेपनि आर्थिक सरसहयोग जुटाउनै मुस्किल पर्ने देखिएपछि अन्तिम समयमा आएर पछि हट्नुुपरेको मैनालीले बताएका छन् ।

मोफसलमा फुटबलको विकास र खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य राखी आयोजना गरिएको प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लगायत अन्य निकायबाट कुनै सहयोग प्राप्त नभएर प्रतियोगिता नै रोक्नुपर्दा अत्यन्त दुःख लागेको आयोजक बागमती युवा क्लबका अध्यक्ष मैनालीको भनाई छ । पछिल्लो पटक २०७९ मा आयोजना गरिएको राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको थियो ।

मधेश प्रदेशकै सर्वाधिक धनराशीको राजर्षि जनक कपको बिजेतालाई आयोजकले पछिल्लो पटक १० लाख रुपियाँ र उपबिजेतालाई पाँच लाख रुपियाँ प्रदान गरेको थियो ।

राष्ट्रियस्तरका चर्चित तथा विदेशी क्लबलाई समेत सामेल गराएर आयोजना हुँदै आएको फुटबल प्रतियोगिता दुुई वर्षदेखि स्थगित हुँदा स्थानीय फुटबलप्रेमीले नैराश्यता व्यक्त गरेका छन् ।