बिहीबार मध्यान्ह सर्लाहीको बाँके चोक नजिकको जंगलमा फैलिएको डढेलो । (तस्बीर : उज्यालो अभियान)
जनार्जन खत्री/लालबन्दी, ०७ चैत – सर्लाहीका वन क्षेत्रमा व्यापकरुपमा डढेलो फैलँदा नियन्त्रणमा समस्या परेको छ ।
सुक्खापन बढिरहेका बेला केही दिनदेखि तीव्रगतिमा हावाहुरी चल्न थालेसँगै जताततै डढेलो लाग्न सुरु भएको हो । जिल्लाको फूलजोर बाबा साझेदारी वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएको यो साझेदारी वनको उत्तरतर्फ घना मानव वस्ती रहेको छ । पूर्व पश्चिम राजमार्गको बाँके चोक आसपास बिहीबार बिहानबाट भीषणरुपमा डढेलो फैलिएपछि नियन्त्रणमा समस्या परेको सर्लाहीका डिभिजन वन प्रमुख सन्तोषकुमार झाले उज्यालो अभियानसँग बताए ।
वन कर्मचारी, अग्नी नियन्त्रक र वन कार्यालयसँग रहेको एउटा पानी ट्याङ्करबाट पानी हाल्दा समेत बाँके जङ्गलको डढेलो नियन्त्रण गर्न कठीन भएको डिभिजन वन प्रमुख झाले बताए । “डढेलोले राजमार्गमा हिँड्ने सवारी साधनलाई समेत जोखिम भएपछि सबै उपाय लगाएर निभाउने प्रयास गर्यौ तर निभाउन सकिएन,” डिभिजन वन प्रमुख झाले भने“ तीव्र हावाहुरी चलेको बेला लाग्ने वन डढेलो निभाउन असाध्य समस्या पर्छ ।” हावाहुरीसँगै डढेलो झन्झन् फैलिएपछि डिभिजन वन कार्यालयबाट पुगेका अग्नी नियन्त्रक र कर्मचारी आगो निभाउने प्रयास बिफल भएपछि त्यसै फर्किएका छन् ।
हावाहुरी चल्नेयाममा दिउँसोपख वन क्षेत्रमा लाग्ने डढेलो निभाउन कठीन हुने डिभिजन वन प्रमुख झा बताउँछन् । दुुई दिनमै बाँके चोकदेखि उत्तरतर्फ फूलजोर बाबा साझेदारी वनमा व्यापक डढेलो लागेर वन क्षेत्र उजाड बनेको स्थानीयले बताएका छन् ।
पूर्व पश्चिम राजमार्गको लालबन्दी, रानिगन्ज, फूलजोर, सागरनाथ र बाँके क्षेत्रमा व्यापकरुपमा डढेलो फैलिएको छ । नयाँरोड–बरहथवा सडकखण्डमा पर्ने मूर्तिया वन क्षेत्रमा फैलिएको डढेलो पनि नियन्त्रण बाहिर रहेको स्थानीयले बताएका छन् । बिहीबार मध्यान्ह बरहथवाबाट पूर्व पश्चिम राजमार्गतर्फ आएका बरहथवाका नेकपा माओवादी केन्द्रका नेता राजन कार्कीले सडकको दुवैतर्फको जंगलमा ठूलो डढेलो लागेको जानकारी दिए ।
बाँके चोक आसपास आज साँझपख दिउँसोको तुलनामा अझ भीषणरुपमा डढेलो फैलिएको स्थानीय टलकबहादुर पुलामी मगरले जानकारी दिए । बाँके चोक क्षेत्र र बाँके जंगलकै भत्किएको लच्का क्षेत्रमा अहिले रातिसम्म पनि राजमार्गसम्म नै आगोको लप्का फैलँदा यात्रु तथा सवारी चालकले अत्यन्त जोखिम महशुस गरिरहेका छन् ।

बिहीबार साँझ बाँके जंगलस्थित भत्किएको लच्का नजिक राजमार्गसम्म नै फैलिएको डढेलो । (तस्बीर : उज्यालो अभियान)
घारिबथान–लालबन्दी रुटमा म्याजिक चलाउने छेसल तामाङले बुधबार दिउँसोदेखि नै फूलजोरदेखि पूर्व लागेदेखि घारिबथान गाउँ ननिस्कँदासम्म असाध्य ठूलो डढेलोको सामना गरेको सुनाए । “हावा धेरै चलेर होला रोड छेउछाउ डढेलो लाग्दा डराइ–डराई गाडी हाँके,” तामाङले भने, “दुई दिनमै जंगल त सखाप जस्तै भयो ।” मानव हस्तक्षेपले उजाडिँदै गएको वन क्षेत्र डढेलोले झनै सखाप पारेको छ ।
डिभिजन वन कार्यालय सर्लाहीले डढेलोबाट जोगाउन आफ्नै कार्यालय परिसर तथा मातहतका विभिन्न सवडिभिजन कार्यालयले काठ थुुपारेर राखिएको ठाउँ (घाटगद्धी) स्थल छेउछाउ अग्नी नियन्त्रण रेखा (फायर लाइन) निर्माण गरेको छ । वनमा डढेलो लागिहाले घाटगद्धीस्थलसम्म आउन नदिन बनाइएको अग्नी नियन्त्रण रेखामा पातपतिङ्गर जम्मा भए तत्काल सफा गर्ने गरिएको डिभिजन वन प्रमुख झाले बताए ।
सुक्खायाममा वन क्षेत्रमा हुने डढेलो रोकथाम तथा नियन्त्रणका लागि भन्दै सर्लाहीमा अहिले डिभिजन वन कार्यालय र मातहतका सवडिभिजन वन कार्यालयले स्थानीयलाई सहभागी गराएर सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । तर यही समयमा जिल्लाको प्रत्येक वन क्षेत्रमा जताततै डढेलो फैलिरहेको छ ।

वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले गरेको सचेतनामूलक कार्यक्रम । (तस्बीर : उज्यालो अभियान)
सागरनाथ वन विकास परियोजना सर्लाहीका प्रमुख खेमलाल विश्वकर्माले दुुई/तीन दिनदेखि परियोजनाको वन क्षेत्रमा फैलिएको डढेलो निभाउनै समस्या परिरहेको बताए । “हामीसँग यस्तो बेला धेरै पानी फाल्ने दमकल छैन्, भएका कर्मचारी र एउटा पानी ट्याङ्करबाट पानी खन्याएर डढेलो निभाउने प्रयास गरिरहेकै छौँ,” परियोजना प्रमुख विश्वकर्माले भने “सुक्खा अत्यधिक बढेको र त्यसैमाथि हावाहुरी समेत चल्दा डढेलो निभाउन असाध्य समस्या परिरहेको छ ।”
डढेलो निभाउनका लागि परियोजनाको सागरनाथस्थित कार्यालय तथा मुर्तिया र महोत्तरीको हात्तिलेठमा रहेको शाखाबाट भएका जनशक्ति र औजार–उपकरण परिचालन गरिएको परियोजना प्रमुख विश्वकर्माले बताए । डढेलोका कारण वन छेउछाउका बस्तीमा आगलागीको जोखिम बढेको छ भने वन्यजन्तु संकटमा परेका छन् ।

डढेलोले उजाड बनेको वनमा चर्न जाँदै गरेका गाईवस्तु । (तस्बीर : उज्यालो अभियान)
वनमा जताततै डढेलो फैलिएपछि बाँदर, हरिण, निलगाईलगायतका जंगली जनावर किसानको खेतबारी र मानव बस्तीमा पस्न थालेका छन् । सर्लाहीमा हरिहरक्षेत्र सामुदायिक वनका पदाधिकारी र उपभोक्ता भने वन डढेलो नियन्त्रणका लागि आफै लागिपरेका छन् ।
उक्त सामुदायिक वनका अध्यक्ष भिमशेन थापाले चैत ४ गतेदेखि आफूहरुको सामुदायिक वनभित्र लागेको डढेलो बिहीबार बिहानबाट पूर्णरुपमा नियन्त्रणमा लिएको बताएका छन् । “हाम्रोमा त कतै डढेलो लाग्यो भने पदाधिकारी आफै पाँच/सात जना स्थानीयलाई लिएर गएर निभाउने गरेका छौँ,” वनका अध्यक्ष थापाले उज्यालो अभियानसँग भने “अलि नियन्त्रण नै गर्न नसक्ने स्थिति सिर्जना भएको खण्डमा प्रहरी र सेनासँग समेत सहयोग माग्ने गरेका छौँ ।”

हरिहरक्षेत्र सामुदायिक वनमा स्याउला (हरियो) घाँसले डढेलो निभाउँदै एक उपभोक्ता । (तस्बीर : उज्यालो अभियान)
डिभिजन वन कार्यालय सर्लाहीका एक अधिकारीका अनुसार वनमा प्रायः वस्तुुभाऊ चराउन जाने गोठाला, घाँस, दाउरा गर्न जाने मानिस र सिकारीले डढेलो झोस्ने गरेका छन् । गोठालाले चाँडो पालुवा पलाउने र शिकारीले वन्यजन्तुको शिकार गर्न सहज होस् भन्ने मनाशयले वनमा डढेलो लगाउने गरेका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीले वन हेरालु तथा कर्मचारीलाई वनमा डढेलो लगाउने व्यक्तिको समेत पहिचान गर्न निर्देशन दिइएको जनाएको छ । वन ऐन अनुसार वनमा डढेलो लगाएर वन सम्पत्तिमा हानीनोक्सानी पुुर्याउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ६० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था रहेको छ ।