logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

परीक्षामा मर्यादा कायम गर्न नसक्ने तीन निरीक्षक र गाइड बोक्ने सहयोगी निष्काशित


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, ०७ चैत – सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा आज पहिलो दिन तीन जना निरीक्षक र एक जना विद्यालय सहयोगी निष्काशनमा परेका छन् ।

परीक्षा हलभित्र मर्यादित वातावरण कायम गर्न नसकेको भन्दै जिल्लास्तरीय अनुुगमन समितिले बलरामा दुुई जना र हरिपूर्वामा एक जना परीक्षा निरीक्षकलाई निष्काशन गरेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए । बलरा नगरपालिका–४, स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक रामनारायण बैठा र रिन्कु देवी निष्काशनमा परेका छन् ।

यस्तै हरिपूर्वा नगरपालिका–५, स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक बाबुलाल राय निष्काशित भएका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ । त्यस्तै मलङ्गवा नगरपालिका–७, मुसैलीस्थित बौधीदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विद्यालय सहयोगी इन्द्रजित महतो नुनियालाई निष्काशन गरिएको छ ।

अनुुगमन टोली पुुग्दा बाहिरबाट मोवाइल र गाइड बोकेर आउँदै गरेको भेटिएपछि विद्यालय सहयोगी महतोलाई निष्काशन गरिएको हो । निष्काशनमा परेका निरीक्षक र सहयोगी बाँकी कुनै पनि परीक्षामा सामेल हुन नपाउने शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए ।

एसइई अन्तर्गत परीक्षार्थीले आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।