सर्लाही क्याम्पस मलंगवा परिसर । (तस्बीर : विवेक यादव)
लालबन्दी, ०५ चैत – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सर्लाहीका तीनवटा क्याम्पसमा शान्तपूर्वक मतदान जारी छ ।
निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म सर्लाही क्याम्पस मलङ्गवामा तीन हजार २४९ मतदातामध्ये एक हजार १५०, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा ८२८ मतदातामध्ये ६२७ र जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा एक हजार ८४ जना मतदातामध्ये ६०८ जना विद्यार्थीले मत खसालेका छन् ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान अहिले अपरान्ह ४ बजेसम्म चल्ने छ । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा बिहान आधा घण्टा ढिलो गरी मतदान सुरु भएकाले विद्यार्थी सङ्घसङ्गठनसँग सल्लाह गरी आधा घण्टा समय थप हुन सक्ने निर्वाचन अधिकृत शिवहरि नेपालले उज्यालो अभियानसँग बताए ।
चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका निर्वाचन समिति संयोजक डा. हरिलाल मैनालीले अपरान्ह ४ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसक्ने मतदातालाई मतदान गर्न दिइने बताएका छन् । मतदान सकिनासाथ आजै साँझबाट मतदान सुरु गरिने सर्लाही क्याम्पस मलङ्गवाका निर्वाचन अधिकृत कृपानाथ झाले जानकारी दिए ।
तीनवटै क्याम्पसमा अहिले विद्यार्थी लामवद्ध भएर मतदान गरिरहेका छन् । क्याम्पस परिसरबाहिर उम्मेदवार, मतदाता विद्यार्थी र विभिन्न दलका नेता तथा जनप्रतिनिधिको भीडभाड देखिन्छ ।
स्ववियु निर्वाचनमा सम्वन्धित क्याम्पसको स्नातक तह (ब्याचलर्स) र स्नातकोत्तर तह (मास्र्टस्) मा अध्ययनरत् विद्यार्थीले मतदान गर्न पाउने छन् । सर्लाहीका तीनवटा क्याम्पसमध्ये सर्लाही क्याम्पस मलङ्गवामा तीनवटा सङ्गठन एवं समूह, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा दुुई÷दुईवटा विद्यार्थी सङ्गठन प्रतिस्पर्धामा रहेका छन् ।
यसै वर्षदेखि स्ववियु निर्वाचन गराउने मान्यता पाएको बागमतीस्थित कर्मैया आर्दश बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।