महोत्सव उद्घाटन समारोह । (फाइल तस्बीर)
लालबन्दी, ०५ चैत – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा फागुन २३ गतेदेखि संचालित दोस्रो लालबन्दी महोत्सवको समापन गरिएको छ ।
“आर्थिक समृद्धि र स्वरोजगारको आधार–कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मुल नारासहित आयोजित महोत्सवको गएराति समापन गरिएको हो । आयोजक उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले महोत्सव सफलतापूर्वक सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
उनले महोत्सव नाफामै रहेको तर अन्तिम हरहिसाब हुन केही साता लाग्ने उज्यालो अभियानसँग बताए । विभिन्न सरसहयोगी निकाय, सङ्घसंस्था र कम्पनिबाट घोषणा भएका आर्थिक सहयोग सङ्कलन भएपछि अन्तिम हिसाब निस्कने अध्यक्ष बलम्पाकीले बताए ।
७२ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको महोत्सव आयोजनाका लागि लालबन्दी नगरपालिका कार्यालयले नौ लाख रुपियाँसहित टिकट बिक्री, स्टल बुङिग, विभिन्न निकाय तथा कम्पनिबाट आर्थिक सहयोग प्राप्त भएको आयोजक उद्योग वाणिज्य सङ्घ लालबन्दीले जनाएको छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरमा रहेको भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा ११ दिनसम्म आयोजित महोत्सवको उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सहयोगी व्यक्ति तथा सङ्घसंस्था, कार्यालयलगायतलाई सम्मान गर्दै समापन गरिएको हो ।
महोत्सव अवधिभर व्यापार, व्यवसाय बढ्दा लालबन्दीका होटल सञ्चालक तथा अन्य व्यवसायी खुसी देखिएका छन् । आयोजक उद्योग वाणिज्य सङ्घ लालबन्दीले महोत्सवस्थलमा स्थानीय कृषि उपजलगायत यहाँका लोकल परिकारलाई निःशुल्क स्टल उपलब्ध गराइ स्थानीय उत्पादनको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धनमा टेवा पुर्याएको छ ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति विषेश रह्यो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ लालबन्दीका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद चौलागाईले योजना र तयारी अनुसार नै महोत्सव सफलरुपमा सम्पन्न भएको बताए ।