हरिवन, ०१ चैत – सर्लाहीको हरिवनमा मानवसेवा आश्रमको अधुरो भवन निर्माण पूरा गर्न आवश्यक पर्ने रकम जुटाउने उद्देश्यले आयोजित महायज्ञमा दुुई करोड ७६ लाख रुपियाँ सङ्कलन भएको छ ।
फागुन २२ गतेदेखि गएरातिसम्म आयोजित महायज्ञमा दुुई करोड ७६ लाख ५६ हजार ५८२ रुपियाँ दान प्राप्त भएको हो । महायज्ञको अन्तिम दिन हिजो मात्रै ४२ लाख बढी सहयोग सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाले जानकारी दिए ।
हरिवन नगरपालिका–९, दनुुवारीमा अधुरो अवस्थामा रहेको मानवसेवा आश्रमको भवन निर्माण पूरा गराउन ११ करोड रुपियाँ आवश्यक पर्ने मानवसेवा आश्रमले जनाएको छ । सोही भवनको निर्माणमा चाहिने रकम जुटाउने उद्देश्यले मानवसेवा आश्रम आफैले हरिवन ११, स्थित सूर्ति विकास चौरमा लगाएको महायज्ञ दुुई करोड ७६ लाख रुपियाँ सङ्कलन गरेर समापन गरिएको छ ।
महायज्ञमा सबैभन्दा धेरै हरिवन नगरपालिकाले ५६ लाख २१ हजार रुपियाँ सहयोग गरेको छ । जिल्लाका अन्य पालिका, वडा कार्यालय, सामाजिक सङ्घसंस्था र व्यक्तिगततर्फबाट पनि उत्साहपूर्ण ढङ्गले सहयोग प्राप्त भएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
मानवसेवा आश्रमको सर्लाही शाखा आफ्नै भवन नहुँदा हरिवन नगरपालिकाले वडा नं. १ स्थित कैलाशपुरीमा उपलब्ध गराएको ज्येष्ठ नागरिक भवनबाट सञ्चालन भइरहेको छ ।
आश्रममा अहिले ६० जनालाई आश्रय दिएर राखिएको छ । महायज्ञकै अवसरमा फागुन २२ गते हरिवन नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रीत मानवमुक्त’ नगरपालिका घोषणा गरिएको थियो ।