logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

द्वन्द्वपीडित बालबालिकासँगै होली मनाइयो


  • उज्यालो अभियान

घुर्कौली, २९ फागुन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित बालगृहमा आज द्वन्द्वपीडित बालबालिकासँगै रङ्गहरुको पर्व फागु अर्थात् होली मनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखासँगको सहकार्यमा बालगृहले द्वन्द्वपीडित बालबालिकासँग होली मिलन समारोह सम्पन्न गरेको हो । कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुुङ्गेली, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, भैरवीदल गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी (कर्णेल) सूूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दलगायतले द्वन्द्वपीडित बालबालिकालाई रङ्ग लगाइदिएर खुसी साटासाट गरी होली पर्व मनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले महासङ्घले वर्षेनि अभिभावकविहीन द्वन्द्वपीडित बालबालिकासँग रमाईलो गर्दै होली मिलन कार्यक्रम गर्दै आइरहेको बताए । नेपाली संस्कार एवं संस्कृतिको रक्षा गर्ने उद्देश्यसहित ‘द्वन्द्वपीडित बालबालिकासँग रमाऔँ, उनीहरुको हौसल्ला बढाऔँ’ भन्ने नारासहित नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले होली मिलन समारोह सम्पन्न गरेको हो ।

बालगृहका प्रमुख संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बालगृहमा अनाथ बालबालिकासँगै खुसी साटासाट गर्दै होली मनाउने नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले बसालेको प्रचलन राम्रो लागेको बताए । बालगृहका अध्यक्ष सुरेन्द्र लामाले बालगृहमा हरेक बेला सङ्कट पर्दा नेपाल पत्रकार महासङ्घले साथसहयोग दिँदै आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

बालगृहमा अहिले अभिभावकविहीन ३० जना बालबालिका आश्रीत रहेका छन् । तीन जना बालबालिका बाहिर अध्ययनका लागि गएका बालगृहका नवीन लामाले जानकारी दिए ।

होली मिलन समारोहमा हरिवन नगरपालिका–५, का वडाध्यक्ष नागेन्द्रकुमार साह, उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष प्रयाजराज पोते, अन्य व्यवसायी, नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्व अध्यक्षहरु अमन कोइराला, रोशन न्यौपाने, टंकबहादुर क्षेत्री, विश्वनाथ ठाकुर, जिल्लास्थित विभिन्न पत्रकार सङ्घसङ्गठनका अध्यक्ष तथा पदाधिकारी, अन्य पत्रकार, सामाजिक व्यक्तित्व, बालगृहका शिक्षक, बालबालिकालगायको उपस्थिति रहेको थियो ।

सर्लाहीमा दुुई दिन होली पर्व मनाउने प्रचलन रहेको छ ।

उत्तरी भेगको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायत क्षेत्रमा पहाड र तराईमा पर्व मनाउने दुवै दिन तथा सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगका भने तराई क्षेत्रमा पर्व मनाउने दिन हर्षोउल्लासपूर्वक होली पर्व मनाउने गरिएको छ ।

उत्तरी भेगमा आज गाउँ, टोलबस्ती, चोक, चौतारा र बजार क्षेत्रमा अविर लगाउँदै होली मनाउन हिँडेकाहरु बाक्लै मात्रामा देखिएका छन् ।