लालबन्दी, २८ फागुन – सर्लाहीमा आज विद्यालय, कार्यालय तथा संघसंस्थामा फागुपूर्णिमा अर्थात् होली मनाइएको छ ।
भोलीदेखि होलीको बिदा परेकाले विद्यार्थी, शिक्षक, कर्मचारीलगायतले आज नै आ–आफ्नो विद्यालय र कार्यालयमा शुुभकामना आदानप्रदानसहित रंग दलेर पर्व मनाएका हुन् । सर्लाहीको दक्षिणी भेगबाट उत्तरी भेगमा आएर कोठा गरी पढ्ने विद्यार्थी होली मनाउनका लागि आजै आ–आफ्नो घरतर्फ लागेका छन् ।
लालबन्दीमा गाडी चढेर घर फर्किने विद्यार्थीको चोकमा भीडभाड देखिन्थ्यो । पहाडी भेगमा भोली र तराई भेगमा पर्सी होली मनाइँदै छ । मिश्रित बसोवास रहेको सर्लाहीको उत्तरी भेगमा भोली र पर्सी दुवै दिन होली मनाइन्छ ।
दक्षिणी भेगमा भने पर्सी तराई क्षेत्रमा मनाइने दिन मात्रै होली खेल्ने प्रचलन छ । होलीको अवसरमा भोली पहाडमा र पर्सी तराईमा बिदा दिइएको छ ।
सर्लाहीमा प्राय : भोली र पर्सी दुवै दिन नै बिदा जस्तै रहने गरेको छ । होलीको अवसरमा जिल्लाका बजारहरुमा सेतो रंगका सर्ट, टिसर्ट तथा कुुर्था र अविरको व्यापार बढेको छ । तर, आर्थिक मन्दीले गर्दा अघिल्ला वर्षहरुमा जस्तो उल्लेख्य व्यापार नरहेको व्यापारीको दुःखेसो छ ।
सीमावर्ती गाउँबाट मजदुरीका लागि भारतका विभिन्न ठाउँमा पुुगेका मजदुर तराईको ठूलोमध्येको एक, होली पर्व मनाउन घर आइपुुगेका छन् ।