logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

स्ववियु निर्वाचन : सर्लाहीका तीन क्याम्पसमा ५ हजार १६१ मतदाता


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २६ फागुन – आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सर्लाहीका तीनवटा क्याम्पसबाट पाँच हजार बढी विद्यार्थीले मतदान गर्न पाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय मातहत रहेका सर्लाही क्याम्पस मलङ्गवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा स्ववियु निर्वाचन हुँदैछ । तीनवटा क्याम्पसका स्ववियु निर्वाचन समितिले अन्तिम मतदाताको नामावली प्रकाशन गरिसकेका छन् । जसअनुसार तीनवटा क्याम्पसमा कूल पाँच हजार १६१ जना मतदाता भएका छन् ।

निर्वाचनमा क्याम्पसको स्नातक तह (ब्याचलर्स) र स्नातकोत्तर तह (मास्र्टस्) मा अध्ययनरत् विद्यार्थीले मतदान गर्न पाउने छन् । तीनवटा क्याम्पसमध्ये सदरमुकाम मलङ्गवामा रहेको सर्लाही क्याम्पसमा तीन हजार २४९ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन संयोजक कृपानाथ झाले बताए ।

सर्लाही क्याम्पसमा स्ववियु निर्वाचनमा भाग लिन ११ वटा सङ्गठन दर्ता भएका छन् । लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा एक हजार ८४ जना मतदाता रहेका स्ववियु निर्वाचन समितिका संयोजक शिवहरि नेपालले जानकारी दिए । नेपालका अनुसार चारवटा विद्यार्थी सङ्गठन दर्ता भएकोमा आज एक जना विद्यार्थीले स्वतन्त्र उम्मेदवारी दिने भन्दै मनोनयन पत्र बुुझेर लगेका छन् ।

स्ववियु निर्वाचनको कार्यतालिका अनुसार भोली उम्मेदवारी दर्ताका लागि समय छुुट्याइएको छ । स्ववियु निर्वाचन हुने जिल्लाका तीनवटा क्याम्पसमध्ये चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा सबैभन्दा कम ८२८ जना मतदाता रहेका निर्वाचन समिति संयोजक डा. हरिलाल मैनालीले जानकारी दिए ।

चतुुर्भूजेश्वरमा पाँचवटा विद्यार्थी सङ्गठन दर्ता भएका छन् । स्ववियु निर्वाचन आउन अब एक साता मात्रै बाँकी छ ।

निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी सङ्घसङ्गठनले चुुनावी तयारी र गतिविधि तीव्र पारेका छन् ।