logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पत्रकार महासंघ सर्लाहीको पदस्थापन, स्मारिक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, २४ फागुन – नेपाल पत्रकार महासंघ सर्लाहीको आज सदरमुकाम मलंगवामा पदस्थापन, सम्मान तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षता तथा केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत मंसिर २८ गते सम्पन्न पत्रकार महासंघ सर्लाही शाखाको निर्वाचित अध्यक्ष ओमप्रकाश ठाकुर नेतृत्वको समितिलाई टंकबहादुर क्षेत्री नेतृत्वको निवर्तमान कार्य समितिले पदहस्तान्तरण गरेको छ ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीको इतिहास तथा जिल्लाका पर्यटकीयस्थलको विषयमा तयार पारिएको स्मारिका (पुस्तक) समेत विमोचन गरिएको छ । यस्तै स्वर्गिय गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष लोकतन्त्र दैनिकमा कार्यरत पत्रकार मनोज यादवलाई नगद १५ हजार ५५५ रुपैयाँसहित कदर–पत्रबाट सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य सिकिन्द्र पासवान र राजु विश्वकर्मा, लेखा समिति संयोजक केसी लामिछाने, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

पदभार ग्रहणपश्चात आजै बसेको नेपाल पत्रकार महासंघ सर्लाहीको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले महासंघको निर्वाचन गराउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जिल्लाका पत्रकार तथा पत्रकारिताको विकास एवं उत्थानमा लागिपर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष ओमप्रकाश ठाकुरले बताए ।