लालबन्दी महोत्सवस्थलमा सुरक्षा अधिकारीलगायत अन्य ।
लालबन्दी, २१ फागुन – मानिसको अधिक भीडभाड हुने गरी आयोजना हुन लागेका सर्लाहीका दुुई कार्यक्रमस्थलमा सुरक्षाको अवस्थाबारे सर्लाहीका सुरक्षा अधिकारीले आज निरीक्षण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहितका सुरक्षा अधिकारीले दोस्रो लालबन्दी महोत्सव र नेकपा माओवादी केन्द्रको तराई–मधेश जागरण अभियानमा के–कसरी सुरक्षा प्रवन्ध मिलाउने भनी स्थलगत निरीक्षण गरेका हुन् । लालबन्दी ९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योगको खाली जग्गामा पर्सी शुक्रबारदेखि आगामी चैत ४ गतेसम्म दोस्रो लालबन्दी महोत्सव हुँदै छ ।
उक्त महोत्सव स्थलमा भीडभाड हुने भएकाले सुरक्षा अवस्थाबारे सिडिओ श्रेष्ठ, नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) सूूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दलगायतले महोत्सवस्थलको निरीक्षण गरेका हुन् । महोत्सवको तयारीबारे जिल्लाका सुरक्षा अधिकारीलाई आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी र संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका संयोजक पूर्णप्रसाद चौलागाईले अवगत गराएका छन् ।
यस्तै महोत्सवको सुरक्षा तयारी र ट्राफिक व्यवस्थापनका सम्वन्धमा इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठक र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर रजोस घिमिरेले ब्रिफिङ गरेका छन् ।
सुरक्षा अधिकारीहरुले आजै साँझ माओवादी केन्द्रले आयोजना गर्न लागेको तराई–मधेश जागरण अभियान अन्तर्गत सर्लाहीमा शुक्रबार आयोजना गर्न लागेको कार्यक्रमस्थलको निरीक्षण गरेका छन् । भोली महोत्तरीको कार्यक्रम सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शिर्ष नेता हुलाकी सडक भएर सर्लाही प्रवेश गर्दै छन् ।
माओवादीले हुलाकी सडकको पर्सा, ब्रम्हपुुरी, मलंगवालगायत स्थानमा गर्ने कार्यक्रमस्थलमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन निरीक्षण गरिएको एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए ।
मानिसको भीडभाड हुने गरी भोलीबाट आगामी २९ गतेसम्म हरिवनमा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएकाले त्यहाँ पनि आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको जिल्लाका सुरक्षा अधिकारीले बताएका छन् ।